काठमाडौँ — कथाकार परशु प्रधानको कथा ‘डल्ले खोला’ कक्षा ८ को नेपाली विषयमा पढाइ हुँदै आइरहेको छ । अब यही कथामा बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक मञ्चन हुने भएको छ ।
रंगकर्मी वेदना राईको परिकल्पना र निर्देशनमा आगामी जेठ २९ देखि नाटक ‘डल्ले खोला’ मञ्चन हुने भएको हो । एक थिएटर नेपालको प्रस्तुति रहेको नाटकलाई सौजन सेनेहाङले निर्माण गरेका हुन् ।
नाटकमा उमेश सुनाम, रमिता राई, अमित मगर, रञ्जना नेपाली, रचना मगर, रेजिना राई, सोहाङ राई थुलुङ, स्वर्णिम चाम्लिङ, ओसिन गुरुङ, पुष्पाञ्जली तिम्लिङ लिम्बू, आकाश सुहाङ लिम्बू, अञ्जना थुलुङ राई, नुमा राई, प्रकृति थुलुङ राई, प्रिति चाम्लिङ राई, युगल श्रेष्ठ र सरोज खालिङ राईको अभिनय छ ।
असार १४ गतेसम्म मञ्चन हुने नाटक मंगलबारबाहेक साताको प्रत्येक साँझ ५:१५ बाट सुरु हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त शो समेत रहेको निर्माण टिमले जनाएको छ ।
