सहरमा नयाँ नाटक

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

New drama in town

काठमाडौँ — मण्डलामा 'मञ्जिरा', कान्तिपुरमा 'मीरा', एलओडीमा 'सिकागो द म्युजिकल' । सहरमा फेरि नयाँ नाटक मञ्चन सुरु भएको छ । मञ्चनकै लागि तयार अनि मञ्चनरत नाटकले फेरि सहर तरङ्गित बनेको छ । 

अहिले मण्डला थिएटर सोमनाथ खनालको निर्देशनमा 'मञ्जिरा' मञ्चनरत छ । निर्देशक खनाल र सन्देश घिमिरेको लेखनमा तयार भएको यो नाटक जेठ १६ देखि मञ्चनमा आएको हो । नाटकमा कलाकार सरोज खनाल, सरिता गिरी, सरस्वति चौधरी, सुशाङ्क मैनाली र अनुप न्यौपानेको अभिनय छ । गैरीधारामा अवस्थित कान्तिपुर फिल्म एकेडेमीमा खुलेको कान्तिपुर थिएटरमा अभिनेत्री रेखा थापाको अभिनयमा नाटक 'मीरा' मञ्चनरत छ । सुन्दर धितालको निर्देशनमा बनेको यो नाटक असार ७ सम्म मञ्चनमा आउनेछ । 

दीपक सिंजालीद्वारा लिखित पुस्तक 'मीरा'माथि तयार यो नाटकमा अभिभावकका कारण एउटा प्रेम सम्बन्धले कस्तो आरोह अवरोहको सामना गर्नुपर्छ भन्ने देखाइएको छ । नाटकमा अभिनेत्री रेखासँगै विशाल पहारी, विन्दा खतिवडा, विशाल देवकोटा, गीत विष्ट, डोरेश खतिवडा, उन्नत उप्रेती र सुनिल खड्काको अभिनय छ । जेठ ३१ देखि एलओडीमा 'सिकागो द म्यूजिकल' मञ्चनमा आउनेछ । लय स्कूल अफ पर्फमिङ आर्ट्सको प्रस्तुतिमा मञ्चन हुने यो नाटकमा लुनिभा तुलाधर, विजय ताम्रकार, इलम दीक्षित, दीया शाक्यलगायत थुप्रै कलाकारको अभिनय रहनेछ ।

जेठ २९ देखि शिल्पी थिएटरमा 'डल्ले खोला' मञ्चनमा आउनेछ । वेदना राईको परिकल्पना तथा निर्देशनमा तयार यो नाटकको कथा परशु प्रधानको हो, नाटकको निर्माता सौजन्य सेनेहाङ हुन् । एक थिएटर नेपालको प्रस्तुति रहने यो नाटक असार १४ सम्म मञ्चनरत हुनेछ । असार ९ देखि 'कथा घेरा'मा 'कागताली' मञ्चनमा आउँदैछ । नवीनचन्द्र अर्यालको निर्देशनमा तयार यो नाटकलाई पनि एक थिएटरले प्रस्तुत गर्नेछ । 

कान्तिपुर

Link copied successfully