काठमाडौँ — निर्देशक गणेशदेव पाण्डेको निर्देशनमा 'पारि बुटोल' बन्ने भएको छ । निर्माण टिम अहिले फिल्ममा कलाकार अनुबन्ध गर्ने चरणमा पुगेका छन् । 'कमिङ अफ एज/सोसल रियलज्म'मा आधारित यो फिल्मको कथा निर्देशक पाण्डे आफैंले लेखेका हुन् ।
फिल्मको छायांकन असोजबाट सुरु हुने बताइएको छ । ४५ दिन लगाएर निर्माण टिमले बुटवलका गल्लीहरूमा फिल्मको छायांकन गर्नेछ । यो फिल्मले बुटवलको एउटा बस्तीको कथालाई फिल्ममा देखाउनेछ । 'खासमा बुटवलमा एउटा यस्तो पुरानो बस्ती छ । त्यही बस्तीमा बस्ने ग्याङको कथा फिल्ममा छ,' निर्देशक पाण्डेले भने ।
यो फिल्ममा थुप्रै कलाकार समावेश गरिने पनि निर्देशक पाण्डेले जनाए । उनले 'मञ्जरी' लगत्तै सन् २०१३ देखि 'पारि बुटोल'को लेखन थालेका थिए । पाथिभरा इन्टरटेन्टमेन्ट एन्ड अक्टोबर स्टुडियोको प्रस्तुतिमा बन्ने यो फिल्मका निर्माता ल्याक्सी श्रेष्ठ र शुभम भट्ट हुन् ।
यसअघि 'मञ्जरी', 'गाजा बाजा', 'जुलेबी' बनाएका निर्देशक पाण्डे 'चियावाला'का सञ्चालकसमेत हुन् । 'पारि बुटोल'लाई महेश पौडेलले खिच्ने छन् । 'अहिले हामी कलाकार फाइनल गर्दैछौं । चर्चित कलाकारभन्दा पनि राम्रो अभिनय गर्ने कलाकारको खोजी कास्टिङमार्फत गरिरहेका छौं,' निर्देशक पाण्डेले भने ।
फिल्म निर्माणका लागि बजेट अभाव हुँदा पनि 'पारि बुटोल' बन्न समय लागेको निर्देशक पाण्डले जनाए । 'बजेटको कारणले पनि बनाउन समय लाग्यो । सायद मलाई यो फिल्म बन्न परिपक्व पनि बन्नु थियो होला । सबै कुराको समय हुँदो रहेछ, यो फिल्मका लागि अहिले समय आएको छ,' निर्देशक पाण्डेले भने ।
