काठमाडौँ — गत २५ मेमा अभिनेत्री तथा डान्सर कविता नेपालीले सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरिन् ।
कविता डान्सिङ्ग रियालिटी शो विजेतासमेत हुन् । थुप्रै म्युजिक भिडियो खेलिसकेकी कविताले पछिल्लो समय फिल्म ‘एक्लो’मार्फत फिल्म क्षेत्रमा डेब्यू गरेकी हुन् ।
दुई हिमालको सफल आरोहणपछि कविताले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘यो यात्रा केवल शिखरहरूको बारेमा थिएन, यो सपना देख्नेहरू, गर्नेहरू र सीमाहरूमाथि उठ्ने साहस गर्नेहरूका लागि थियो ।सबैभन्दा महत्त्वपूर्ण कुरा मैले यसलाई जितिनँ, म यो जितभन्दा माथि थिएँ । म एक व्यक्तिका रूपमा हुर्किएँ । मैले सिकें र आफ्नै टुक्राहरू फेला पारेँ । जुन कतै हराइरहेको मलाई कहिल्यै थाहा थिएन ।’
आरोहणबाट फर्केर सकारात्मक सन्देश फैलाइरहेकी कवितालाई फिल्म क्षेत्रमा बधाईको ओइरो लागेको छ । अभिनेत्री निशा अधिकारीले बुधबार फेसबुक पोस्टमार्फत उनलाई बधाई दिँदै फिल्म क्षेत्रमा सगरमाथा आरोहण गर्ने तीन अभिनेत्री भएकोमा खुसी व्यक्त गरिन् । ‘प्रिय कविता,सगरमाथा आरोहीहरूको दुर्लभ र उल्लेखनीय व्यक्तिहरूमा तपाईंलाई स्वागत गर्न पाउनु कति सम्मानको कुरा हो ! तपाईंको साहस, शक्ति र यात्रा प्रेरणादायी भन्दा कम छैन ।’
उनले एउटै उद्योगका तीन महिलालाई संसारको शिखरमा उभिएको देख्नु अविश्वसनीय रहेको बताइन् । आगामी साहसिक कार्यहरूको लागि पनि उनले शुभकामना दिइन् ।
कविताभन्दा अघि नेपाली फिल्म क्षेत्रमा निशा र अर्की अभिनेत्री दिया पुनले पनि सगरमाथाको सफल आरोहण गरेका थिए । यसको सुरुवात भने निशाले गरेकी थिइन् । निशाले गत ०७० सालमै सगरमाथा आरोहण गरेकी थिइन् । त्यतिबेला सगरमाथामा पाइला टेक्ने पहिलो नेपाली नायिका भएको भन्दै उनलाई थुप्रै बधाई आएका थिए ।
०७० चैत २७ गते १२ जना आरोहण दलको टोलीसहित सगरमाथाको यात्रा थालेकी अधिकारी आरोहीको सहयोगीको रुपमा सगरमाथा उक्लेकी थिइन् ।
निशा पछि त्यो हिम्मत अभिनेत्री दिया पुनले राखेकी थिइन् । उनले ०७९ जेठमा सगरमाथाको चुचुरोमा पाइला राखेकी थिइन् । ४२ लाख रुपैयाँ खर्च गरेर दीयाले तीन च्यारिटी उद्देश्यले सगरमाथा चढेकी थिइन् ।
फिल्म वृत्तमा महिला फिल्मकर्मीहरूलाई निशा, दीया र कविताका सफल आरोहणले थप हौसला प्रदान गरेको छ ।
