काठमाडौँ — नेपाल भाषाका गायक सज्जु मानन्धरको स्वरमा रहेको ‘सबैलाई छोडेर’ बोलको गीतको रिमेक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंको रन्जना सिनेप्लेक्समा एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरिएको थियो ।
वरिष्ठ गीतकार तथा कार्यक्रमका सभापति दिनेश अधिकारीले २५ वर्षअघि निर्माण गरिएको म्युजिक भिडियो परिमार्जित गरेर निर्माण गर्दा झनै उत्कृष्ट बनेको सुनाए ।
गीतमा दुई दशकअघिका कलाकार र निर्देशकलाई नै दोहोर्याइएको छ । २०५५ सालदेखि गायनमा सक्रिय सज्जुले आफ्नो पहिलो गीतलाई नयाँ रूप र सोचसहित पुनः निकालेको बताए । उनले राम्रो गीत अझ परिष्कृत गरेर प्रस्तुत गरेकाले समर्थकबाट आफूले ठूलो अपेक्षा राखेको बताए ।
दुई दशकअघि निकालिएको रागिनी वन एल्बमको पहिलो गीतका रूपमा ‘सबैलाई छोडेर’ रहेको थियो । ओआरएस डिजिटलमा सार्वजनिक भएको गीतको प्रस्तुतकर्तामा दिलबहादुर मानन्धर छन् । पहिलो गीतमा अभिनय गरेका कलाकार विन्दे महर्जन रिमेक गीतमा पनि दोहोरिएका छन् । नायिकामा प्रियंका कार्कीको बेजोड अभिनय छ । पहिलो गीतको निर्देशन गरेका कृष्णदेव रुपाखेती रिमेक गीतको पनि निर्देशक छन् । गीतमा डा. राजु मानन्धरको शब्द र जुगल डंगोलको संगीत रहेको छ ।
निर्देशक रुपाखेलीले २५ वर्षपछि फेरि उही गीतको भिडिओ निर्देशन गर्न पाउँदा नौलो अनुभव भएको बताए । उनले विविध कारणले २५ वर्षअघिकी नायिकालाई भने भिडिओमा समावेश गर्न नसकिएको स्मरण गराए ।
