काठमाडौँ — बलिउड अभिनेत्री ईशा गुप्ता फेरि ठूलो पर्दामा जबर्जस्त देखिने भएकी छन् ।यसपटक उनी कमेडी फिल्म ‘धमाल ४’मा देखिने भएकी हुन् । यो फिल्ममा उनले अभिनेता अजय देवगनसँग स्क्रिन सेयर गर्नेछिन् ।
फिल्मलाई इन्द्र कुमारले निर्देशन गर्दैछन् । ईशा बलिउड जगतमा आत्मविश्वासी र अभिनय कौशलताका कारण चर्चित छिन् ।
‘धमाल’को नयाँ सिक्वेलमा उनको कामलाई लिएर प्रशंसकहरू प्रतीक्षा गरिरहेका छन् । ‘धमाल ३’मा उनले आफ्नो शैलीका कारण दर्शकहरूलाई प्रभावित पारेकी थिइन् । ‘उनी यो फिल्ममा जोडिँदा हामी धेरै खुसी छौं, ‘ निर्देशक इन्द्र कुमारले भने, ‘ उनी धमाल ३ को पनि हिस्सा थिइन् । उनी एक उत्कृष्ट अभिनेत्री र अद्भुत कलाकार हुन् । उनीसँग काम गर्नु सधैं सुखद् अनुभव हुन्छ ।’
हालै मात्र ईशाले हनी सिंह र जुबिन नौटियालसँग ‘ब्राउन आइज वाली’ र ‘इश्क मेरा’जस्ता म्युजिक भिडियोहरूमा काम गरेकी थिइन् ।
