काठमाडौँ — फिल्म 'जनै हराएको मान्छे : सम्बन्धका धागाहरु'को नयाँ गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द/रचना, संगीत र स्वरमा ‘आमा’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा अर्जुनसँगै मनिषा सुनारको पनि आवाज छ ।
गीतमा मुख्य कलाकारले घर छोड्दादेखि सहरमा गरेको संघर्ष देखाइएको छ । गीतको भिडियोमा मुख्य कलाकार विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतको अभिनय छ । यो फिल्म भदौ ६ देखि प्रदर्शनमा आउँदैछ । फिल्म अहिले पोस्टप्रोडक्सनमा छ । फिल्मलाई काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको हो ।
हिमाल न्यौपानेको निर्देशन रहेको फिल्ममा अन्य कलाकारहरु रियर राई, कविता आले, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा, सृष्टि खड्डी, निरु खड्का गौतम, सुवास सिंह ठकुरीको अभिनय छ ।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।
