काठमाडौँ — घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटक ‘लस्ट एन्ड फाउन्ड’ले युरोप भ्रमण गर्ने भएको छ । यो नाटकफ्रैंकफर्ट जर्मनीको नाटक महोत्सवमा छनोट भएको छ ।
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको उक्त नाटक जर्मनी, डेनमार्क र स्विडेनका विभिन्न सहरमा आगामी जुलाई र अगस्ट महिनाभरि मञ्चन हुने निर्माण टिमले जनाएको छ ।
पारिवारिक विघटनको संघारबाट फुत्किएर शान्तिको खोजीमा क्यानाडाबाट नेपाल आएको सागर र टुरिस्ट गाइड भूमिबीचको भेटपछि सुरु हुने नाटकले बुद्धकालीन समयतिर पनि पुर्याउँछ ।
यशोधरा र सिद्धार्थबीचको अन्तर्द्वन्द्व, अनागरिक हुनुको पीडा र एकल आमाका सन्तानप्रति राज्यले गर्ने विभेद लगायतका विषयमा नाटकको कथा घुमेको छ ।
नाटकमा पवित्रा खड्का (भूमि), सुमित भण्डारी (सागर), गोविन्द ओली (वेटर), सुहाना आचार्य (वेट्रेस) को भूमिकामा छन् ।
नाटक शिल्पीमा भने जेठ २४ गतेसम्म मञ्चन हुनेछ ।
