काठमाडौँ — सौन्दर्य प्रतियोगिता 'मिस युनिभर्स नेपाल २०२५'को आवेदन खुला भएको छ। हालै पत्रकार सम्मेलन गर्दै आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले आवेदन खुला गरिएको जानकारी दिएको हो ।
प्रतियोगिताको राष्ट्रिय निर्देशक संगीता पुरीले 'मिस युनिभर्स नेपाल २०२५'लाई लोकतान्त्रिक र समावेशी बनाउने बताइन् । 'तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो। म जहिल्यै विश्वास गर्थे कि हामी सबै आ-आफ्नो तरिकाले परिपूर्ण छौं। यस वर्ष हामी प्रतियोगितालाई अझ लोकतान्त्रिक र समावेशी बनाउने प्रतिबद्धताका साथ अगाडि बढिरहेका छौं,' उनले भनिन्, ' हामी सबै पृष्ठभूमिका महिलाहरुलाई स्वागत गर्दछौं ।'
असार १५ सम्म इच्छुकले आवेदन भर्न पाउनेछन् । यो वर्षदेखि प्रतियोगितालाई ८ एपिसोडको टिभी सिरिजबाटै प्रसारण गर्ने तयारी रहेको आयोजक संस्थाले जानकारी दिएको छ । यस संस्करणमा मिस युनिभर्स नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सहकार्य गर्ने जनाइएको छ ।
भदौ महिनामा ललितपुरको गोदावरीस्थित सनराइज हलमा प्रतिस्पर्धाको अन्तिम कार्यक्रम हुनेछ ।
