काठमाडौँ — उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र ‘के घर के डेरा घर नं २’ आजदेखि देशव्यापी रुपमा प्रदर्शन भएको छ । सो चलचित्र आज एकैपटक दुई सयभन्दा बढी ‘शो सङ्ख्या’मा प्रदर्शन भएको निर्देशक दीपेन्द्रकुमार खनालले जानकारी दिए ।
चलचित्रका निर्देशक खनालका अनुसार ‘कर्णाली ब्लुज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्याससहित विभिन्न कवितामार्फत स्थापित बद्धिराम चपाईं अर्थात् बुद्धिसागरको कथामा आधारित भई निर्माण गरिएको सो चलचित्रमा विशेषगरी काठमाडौँ उपत्यकाभित्रका घरबेटी र डेरावालको कथाव्यथालाई समेटिएको छ ।
'चलचित्रको सार्वजनिक प्रदर्शन अगाडि आयोजना गरिएको विशेष प्रदर्शनी (प्रिमियर शो) मा गैरचलचित्रकर्मी दर्शकले पनि यसलाई मन पराउनुभएको छ । त्यसकारण म चलचित्र भवनसम्म पुग्ने दर्शकले चलचित्र मन पराउनुहुनेमा विश्वस्त छु । यो घरबेटी, डेरावालसँगै सहरमा हुनेहरूको कथा हो । यसको सुन्दर पक्ष भनेकै चलचित्रमा रहेका पात्रहरू एकआपसमा जोडिएका छन् । उनीहरूले काठमाडौँ सहरमा देखिने हरेक वर्गलाई प्रतिनिधित्व गरेको छन् भन्ने लागेको छ,' निर्देशक खनालले भने ।
निर्देशक खनालले यस अगाडि ‘के घर के डेरा’ निर्देशन गरेका थिए । उस्तै नाम भए पनि यसपटक कथा र परिवेश फरक रहेको उनको भनाइ छ । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, केकी अधिकारी, आर्यन सिग्देल, उपासनासिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय छ । कलकार लामिछानेले चलचित्रको पटकथामा राम्रा पात्रहरूको उदयसँगै न्यायोचित अवतरण रहेको जानकारी दिए ।
