‘जारी-२’ को छायांकन पाँचथरमा

जेष्ठ १, २०८२

लक्ष्मी गौतम

Shooting of 'Jari-2' in Panchthar

पाँचथर — चलचित्र ‘जारी’ को सफलतापछि निर्माण टिमले यसको दोस्रो भाग निर्माण गर्ने भएको छ। जारी-२ को छायाङ्कन कोशी प्रदेशको पाँचथरमा भइरहेको छ।

‘जारी : सङ् अफ च्याब्रुङ’ नाम दिएर वैशाख २९ गते बुद्ध जयन्तीका दिनदेखि छायाङ्कन सुरु गरिएको यो चलचित्र ‘जारी’को दोस्रो शृङ्खलाका रूपमा तयार हुन लागेको निर्माण पक्षले जनाएको छ ।

फाल्गुनन्द गाउँपालिकाबाट छायाङ्कन सुरु भएको यो चलचित्र पाँचथरका विभिन्न स्थानमा असार १५ सम्म छायाङ्कन गर्ने तालिका छ । चलचित्रको पटकथा लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन्। चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल र ऋचा शर्माको शीर्ष भूमिका हुनेछ ।

यी सँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मनहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङलेकु सहित केही नयाँ कलाकारको अभिनय रहने निर्माता रामबाबु गुरुङले जानकारी दिए ।

चलचित्र विकास बोर्डका अनुसार चलचित्र ‘जारी’ ले घरेलु बक्स अफिसमा १७ करोडभन्दा धेरैको व्यापार गरेको थियो । छायाङ्कन सुरु गरिएको ‘जारी २’ को सबै काम सकेर आउँदो दसैँमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षको छ । त्यसपछि सुटिङ युनिट ‘कबड्डी ५’को निर्माणमा जुट्ने निर्माण पक्षका तयारीमा छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully