‘पुर्खाको थलो’ बेलायत र हङकङमा प्रिमियर हुने

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

'Purkha Ko Thalo' will premiere in UK and Hong Kong

काठमाडौँ — गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको फिल्म ‘पुर्खाको थलो’ विदेशमा जुन १ तारिख (जेठ १८) मा एकैदिन बेलायत र हङकङमा सार्वजनिक गरिने भएको छ ।

नेपालमा भने पहिलो पटक जेठ ३ गते शनिबार पोखरास्थित श्रीकृष्ण चलचित्र मन्दिरमा प्रिमियर हुने निर्माणपक्षले जनाएको छ । यो फिल्म कास्कीको भाचोक गाउँमा छायांकन गरिएको हो ।

ओमप्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशन रहेको फिल्म मुनाल फिल्म प्रालि पोखरामा व्यानरमा निर्माण भएको हो । यो फिल्म मुनाल फिल्मको ब्यानरमा निर्माण भएको आठौं फिल्म हो ।

फिल्मका निर्देशक गुरुङले जुन १ मा बेलायतको अल्डरशटस्थित डि–लन्ज रेस्टुरेन्ट र हङकङको याउ मा ताइ हलमा प्रिमियर गरिने बताए । यस्तै, जुलाइ ६ (असार २२) मा जापानको योकोहमास्थित याको कम्युनिटी सेन्टरमा प्रिमियर गरिने भएको छ ।

निर्देशक गुरुङका अनुसार देश छाडेर बिदेसिने प्रवृत्तिले गहिरो सामाजिक परिवर्तन ल्याइरहेको र त्यसको भावनात्मक प्रभाव साथै आफ्नो पहिचानप्रतिको सम्झनालाई समेटेर यो फिल्म निर्माण गरिएको छ । निर्मात्री कुविना गुरुङले फिल्मले पूर्खा–प्रेम र थातथलोप्रतिको माया र आत्मीय सम्बन्धलाई उजागर गर्न खोजिएको बताए ।

फिल्मलाई कुविनासंगै बेलायत निवासी दिल घले र उत्तरबहादुर गुरुङ साथै खिमकुमारी गुरुङ र जोगमाया गुरुङले निर्माण गरेका हुन् । पिटर गुरुङले छायांकन गरेको यो फिल्ममा गणेशमान घले, लक्ष्मी गुरुङ, ओमप्रकाश गुरुङ मुख्य भूमिकामा छन् । डीबी गुरुङ, लालशोभा गुरुङ, गणेश गुरुङ, सुस्मा गुरुङ, उत्तरबहादुर गुरुङ, कविता गुरुङ, अमिर गुरुङ, खिम कुमारी गुरुङ, राजेन्द्र अधिकारी, गमबहादुर गुरुङ, जोया गुरुङ, सुनदेवी गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा संगीत संयोजन गमबहादुर गुरुङ (गोरे) र विनोद रसाइलीले गरेका छन् । फिल्मको शीर्षगीत आशबहादुर गुरुङ (भुजुङ) ले लेखेका छन् । नृत्य निर्देशन नेत्रबहादुर गुरुङले गरेका छन् । ड्रोन छायांकन सन्देश गुरुङ, सूर्य सुनुवार र पुष्कर थापाले गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully