काठमाडौँ — अभिनेता राजेश हमाल 'नरसिंहा'मार्फत कमब्याक गर्दै छन् । ८ वर्षपछिको यो कमब्याक फिल्ममा हमालले पुरानो फिल्ममा गरिरहेकै चरित्रलाई दोहोर्याएका छन् ।
यो फिल्मको ट्रेलरमा उनी भ्रष्टाचारी र अन्यायविरुद्ध लडिरहेको एक पात्रका रुपमा खडा भएको देखिन्छ । हमालले यसअघि आफ्ना पूराना फिल्महरुमा पनि अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउने पात्रको रुपमा अभिनय गरे ।
गरिब निमुखाको पक्षमा उभिदिने चरित्र बने । कमब्याक गरिरहेको फिल्ममा पनि उस्तै चरित्र छ । देशमा बेतिथी, विसंगति, बेरोजगारीलगायतका समस्या विद्यमान रहेसम्म फिल्ममा यस किसिमको पात्रहरु देखा परिरहने धारणा राख्छन् उनी । 'देशमा बेरोजगारी छ, बेतिथि छ । त्यसैले जनता यो समस्याहरु समाधान गरिदिने कसैलाई पर्खिरहेको देखिन्छ । त्यसैले फिल्ममा यस किसिमको चरित्रहरु देखिन्छन् । नरसिंहामा पनि त्यही छ,' उनले भने ।
