अक्षयसँगको पहिलो भेटबारे सुनील शेट्टीको सम्झना

वैशाख २८, २०८२

कान्तिपुर संवाददाता

Sunil Shetty reminisces about his first meeting with Akshay

काठमाडौँ — पुराना मित्र हुन् अक्षय कुमार र सुनील शेट्टी । यी दुवै अभिनेताले सँगै थुप्रै फिल्ममा काम गरेका छन् ।

सुनील र अक्षयको ‘मोहरा’, ‘हेराफेरी’, ‘फिर हेरा फेरी’ र ‘दे दनादन’ जस्ता फिल्म लोकप्रिय छन् । हालैमा सुनील शेट्टीले अक्षय कुमारसँगको पहिलो भेटबारे स्मरण गरे ।

उनले अक्षयलाई सुरुको भेटमा आफूले गुमाएको प्रिय चेला भाइजस्तै देखिएको भन्दै सम्झना गरे । 

भारतीय सञ्चारमाध्यमसँगको एक अन्तर्वार्तामा सुनील शेट्टीसँग अक्षय कुमारसँगको पहिलो सुटिङको दिनबारे सोधिएको थियो ।

उनले भने, ‘म त्यो पहिलो भेट कहिल्यै बिर्सन सक्दिनँ । मेरो एक चेला भाइ थिए । नाम उल्लास । उनले नै सबैभन्दा पहिले मेरा तस्बिर पठाएका थिए । त्यसकारण मलाई मेरो पहिलो मोडेलिङ असाइनमेन्ट मिलेको थियो । त्यो बेला मैले उनलाई कार दुर्घटनामा गुमाएको थिएँ । उनी २७–२८ वर्षका मात्र थिए ।’

अक्षय कुमारसँगको पहिलो भेटको किस्सा सुनाउँदै सुनीलले थपे, ‘जब मैले अक्षयलाई देखेँ, एकछिनको लागि मलाई लाग्यो कि उनको शरीरको चालढाल, क्लिन सेभ लुक, राम्रो अनुहार र उचाइ । सबै कुरा मेरो भाइजस्तै ।’

त्यतिबेला सुनिलले अक्षयलाई उनी भाइजस्तै देखिएको बताए । ‘तपाईंले मलाई मेरो त्यो भाइको याद दिलाउनुभयो, जसलाई मैले एक दुर्घटनामा गुमाएको थिएँ,’ उनले अक्षयलाई भने ।

अहिले पनि यी अभिनेताबीच गहिरो मित्रता कायम छ ।

कान्तिपुर संवाददाता

Link copied successfully