'म हराएको छैन, छिट्टै नयाँ गीत लिएर आउनेछु'
काठमाडौँ — चालिसको दशकमा 'स्टाइलिस' गायकका रुपमा प्रख्यात भीम तुलाधरलाई रेडियो कान्तिपुरले 'सलाम ज्युँदो इतिहासलाई' कार्यक्रमको नयाँ शृंखलामा शनिबार सम्मान गरेको छ । कालो चस्मा, कालै पहिरन र घुम्रिएको कालो लामो कपालमा ठाँटिने तुलाधर यस्ता पप गायक हुन्, जसले तत्कालीन समयमा लामो कपाल राख्न प्रहरी प्रशासनबाट लिखित अनुमति नै लिएका थिए ।
शनिबार रेडियो कान्तिपुरमा आयोजित कार्यक्रममा उनले भने, 'त्यतिबेला लामो कपाल हुनेलाई प्रहरीले समाएर काटिदिन्थ्यो । मैले गायक भएकाले कपाल पाल्ने अनुमति पाऊँ भनेर निवेदन दिएँ । प्रहरीको अनुमति पनि पाएँ तर त्यो कहिल्यै देखाउन परेन ।'
संगीतबाट झन्डैझन्डै विश्राम लिइसकेको व्यक्तिलाई विशेष कार्यक्रममार्फत सम्मान गरेको भन्दै उनले रेडियो कान्तिपुरलाई धन्यवाद दिए । गायन सुरु गर्नुअघि नै तुलाधरले अन्नपूर्ण क्यासेट सेन्टर खोलेर संगीत व्यवसायमा पाइला चालिसकेका थिए । २०४० सालमा उनले साथीहरुसाग मिलेर ब्यान्ड खोले– द इन्फ्लुयन्स । ०४१ को अन्त्यतिर सोही समूहले पहिलो एल्बम निकाल्यो मायालुलाई । ०४४ सालमा दोस्रो एल्बम सपनीमा सार्वजनिक गरेपछि द इन्फ्लुयन्सका सदस्य तितरबितर भए ।
त्यसपछि कन्सर्टमा एक्लै गाउने मात्रै होइन तुलाधरले एल्बम पनि एकल निकाल्न थाले । ०५६ सालमा ’सम्झना’ एल्बम निकाल्दासम्म उनले ७ वटा सोलो र ३ वटा कलेक्सन एल्बमा स्वर दिइसेका थिए । त्यसको डेढ दशकपछि ०७१ सालमा उनले अर्को एल्बम निकाले, जसको नाम 'अन्तराल' राखियो ।
'श्रोताको रुचि, संगीत बजारको अवस्थाजस्ता विषयको अध्ययन गर्दागर्दै १५ वर्ष बितेको पत्तै भएन । त्यही कारण एल्बमको नाम ‘अन्तराल’ राखेँ,' एल्बम नल्याए पनि विभिन्न स्टेजमा गाउने क्रम भने जारी नै रहेको उनले सुनाए ।
उनी चाँडै नै नयाँ गीतमार्फत नयाँ पुस्तासँग जोडिने क्रममा छन् । भन्छन्, 'म हराएको हैन । समय मिलाउन नसकेर मात्रै हो । छिट्टै नयाँ गीत लिएर आउँछु ।'
कुनै समय एकै दिन ब्यान्डसँग मिलेर ८ वटा गीत रेकर्ड गराएको किस्सा सुनाउँदै उनले थपे, 'म्युजिक नेपालको एउटा सानो स्टुडियोमा पहिलो एल्बम निकाल्दा हामीले जस्तो जोस निकालेका थियौं, त्यस्तै जोसका साथ नयाँ गीत लिएर आउने धोको छ।'
'सलाम ज्युँदो इतिहासलाई' कार्यक्रममा तुलाधरका चर्चित गीत अँगालो अँगालोमा, माया देऊ माया गर, मेरी त घरकी आमालाई, जब तिमी नै पराई भैदियौलाई गायकहरु रविन महर्जन, सुवास मण्डल र दिनेश महर्जनले प्रस्तुत गरेका थिए । नयाँ पुस्ताले पनि आफ्ना गीत मन पराएर गाउँदा खुसी मिलेको तुलाधरले प्रतिक्रिया दिए ।
रेडियो कान्तिपुरले हरेक महिनाको अन्तिम शनिबार 'सलाम ज्युँदो इतिहासलाई' कार्यक्रम सञ्चालन गरेर कला, साहित्य र गीत संगीतका पुराना पुस्तालाई सम्मान गर्दै आएको छ ।
