काठमाडौँ — इन्डियन आइडल-१२ का विजेता गायक पवनदीप राजनको स्वास्थ्यमा सुधार आइरहेको छ । पवनदीप सोमबार बिहान कार दुर्घटनाबाट गम्भीर घाइते भएका थिए ।
उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार अहिले पवनदीप खतरामुक्त छन् ।
उनी ५ मेमा उत्तर प्रदेशको मुरादाबाद नजिकै कार दुर्घटनामा परेका थिए । खबरअनुसार उनको कारको नियन्त्रण गुमेपछि सडक छेउमा रहेको कन्टेनर ट्रकसँग ठोक्किएको थियो ।दुर्घटनामा उनको गाडी निकै क्षतिग्रस्त भएको थियो । पवनदीपसहित अन्य दुई व्यक्ति गम्भीर घाइते भएका थिए ।
प्राथमिक उपचारपछि उनलाई तुरुन्तै दिल्लीको अस्पतालमा सारिएको छ । यद्यपि अहिले उनको सुधार हुँदैछ । उनको अनुहारमा हल्का चोट देखिएको छ ।
पवनदीप राजन उत्तराखण्डका बासिन्दा हुन् । सन् २०२१ मा उनले ‘इन्डियन आइडल १२' को उपाधि जितेका थिए ।
