नोरासँग एउटै मञ्चमा प्रस्तुति दिन उत्साहित तेरिया

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Teriya excited to perform on the same stage with Nora

काठमाडौँ — अभिनेत्री एवं नृत्याङ्गना नोरा फतेही सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि नेपाल आउँदैछिन् ।

आयोजक संस्था वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरका अनुसार जेठ ३ मा हायातको चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’का लागि फतेही नेपाल आउने भएकी हुन् । 

'मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हङश्र हौं, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि स्टेजमा प्रस्तुति दिन पाउनुहुनेछ,' अध्यक्ष मगरले भने । यो कार्यक्रममा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजनका प्रतिस्पर्धी इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेलगायतले प्रस्तुती दिनेछन् । 

नृत्याङ्गना तेरियाले फतेहीसँगै एउटै मञ्चमा प्रस्तुति दिन पाउनु गर्वको विषय रहेको बताइन् । 'अभिनेत्री फतेही अहिले विश्वभर चर्चामा हुनुहुन्छ, उहाँसँग कार्यक्रम गर्न पाउनु हाम्रो लागि राम्रो हो । नेपालमा यसरी कार्यक्रम हुँदा यसले पर्यटन प्रवर्द्धनमा पनि सघाउँछ भन्ने मलाई लागेको छ,'उनले भनिन् । 

कार्यक्रमका लागि फतेहीसहित २० बढी नृत्याङ्गना प्रस्तुति दिन भारतबाट नेपाल आउने जनाइएको छ । अभिनेत्री फतेही अभिनित ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’लगायतका गीत चर्चित छन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully