वर्षौंपछि पलेँटीमा संगीता प्रधानको पुनरागमन

वैशाख १२, २०८२

समर्पण श्री

Sangeeta Pradhan returns to Palanti after years

काठमाडौँ — गुञ्जायमान रिहर्सल कक्षमा वाद्यवादकका औँलाहरूले तरङ्ग छरिरहेका छन् । तरङ्गमा कहिले नातिकाजी, कहिले शान्ति ठटाल त कहिले आभासका संगीत सिञ्चित भइरहेका छन् ।

वाद्यवादनमाझ एउटा परिचित स्वर गुन्जिरहेको छ । जुन स्वरले थुप्रै अभिनेता, अभिनेत्रीलाई मात्र नचाएको छैन, स्कुलदेखि कलेजसम्मका सांस्कृतिक कार्यक्रममा नृत्यकौशल देखाउने विद्यार्थीलाई दोहोर्‍याइतेहेर्‍याइ नचाएको छ ।

क्यासेटको जमानदेखि युट्युबको समयसम्म पनि लगातार झंकृत भइरहने जादुमयी स्वरले यसपटकको पलेँटी शृंखलामा आगन्तुकहरूलाई आस्वादन गराउने छ । फरक स्वादका संगीत रसास्वादन गराउनकै लागि शास्त्रीय संगीतकी पारखी गायिका संगीता प्रधान राणा नेपालयको स्टुडियोमा रियाज गरिरहेकी हुन् ।

यतिबेला पलेँटीका सुरुवाती शृंखला संगीताको कानमा गुन्जिरहेको थियो । ‘अस्तिजस्तो लाग्छ, पलेँटीमा शान्ति दिदीसँग मैले गाएको, १८ वर्ष पुगिसकेछ,’ शान्ति ठटालको संगीतमा स्वर भर्दै गर्दा संगीता नोस्टाल्जिक बनिन् । उनले त्यतिबेलाका वाद्यवादकलाई सम्झिइन् । 

पलेँटीको पुनरागमनसँगै संगीतालाई संगीतकार आभासले सम्झिरहेका थिए । संगीता पनि चाहन्थिन्, ‘पलेँटीमा ठुमरी गरौँ ।’ आभासलाई भनिरहेकी थिइन् । एकदिन आभासले भने, ‘यसपालि खयाल र ठुमरी गर्ने त दिदी ?’ संगीतका शास्त्रीय र उपशास्त्रीय यी विधा भावपूर्ण शृंगार रसले भरिएका हुन्छन् । नेपालमा धेरै पहिले मेलवादेवीले गाएकी थिइन् ठुमरी । संगीताको सम्झनामा त्यसपछि त यसको कुनै इतिहास छैन । ‘हामीले नयाँ पुस्तालाई केही देन त दिएर जाऊँ भन्ने लाग्यो,’ संगीता भन्छिन् । 

आभासले यसपटक संगीत मात्र हैन, शब्द सिर्जनामा पनि नौलो प्रयोग गरेका छन् । त्यसकारण यसपालि पलेँटी शास्त्रीय संगीत, क्लासिकल र सेमी–क्लासिकल गीतहरूले गुन्जनेछ ।

०००

संगीताका थुप्रै नेपाली फिल्ममा पार्श्वगायन गरेकी छन् । ‘सलल पानी यो जिन्दगानी, यो रातै रमाइलो’, ‘चियाको बोटैमा, ‘छिट्को गुन्यु’ लगायत दर्जनौँ गीतले धेरैलाई पुराना दिनको अमूल्य स्मृतितर्फ फर्काउन सक्छन् । अजर–अमर गीतबाट स्रोतालाई स्मृतिमा फर्काउने संगीताका आँखामा भने यतिबेला विगतका दृश्य रिलझैँ घुमिरहेका छन् ।

जीवन महसुस गरेको क्षणदेखि नै संगीतासँग संगीतले यात्रा गरेको हो । विराटनगरमा जन्मेकी उनी भारतको डुवर्समा हुर्किइन् । ‘हामी भएको भूगोलमा संगीत संस्कृति थियो । त्यो संस्कृतिमा आमा मलाई संगीतको साथ देख्न चाहनुहुन्थ्यो,’ दशकौं दूरका सम्झना खोतल्दै संगीता भन्छिन्, ‘त्यतिबेला संगीत रुटिन थियो, संगीत अनुशासन थियो ।’

१८ वर्ष नपुग्दै छोरीको विवाह गर्ने समाज । छोरीको हात अरू कसैको हातमा थमाउने समाजमा उनका बा, आमाले भने संगीत थमाए । ‘बा, आमाका लागि सन्तानलाई दिनुपर्ने महत्त्वपूर्ण कुरा स्वास्थ्य र शिक्षा लाग्थ्यो । उहाँहरू भन्नुहुन्थ्यो– यति भएपछि तिमीहरू आफ्नो बाटोमा हिँड्न सक्छौ,’ संगीता परिवारले दिएको स्वर्णसमयबारे भन्छिन् ।

Sangeeta Pradhan returns to Palanti after years

सन् १९७७मा संगीताले एसएलसी दिइन् । स्नातकका लागि पश्चिम बंगालमा विश्व भारती विश्वविद्यालय गइन् । विख्यात कवि रवीन्द्रनाथ टैगोरले स्थापना गरेको यो विश्वविद्यालय उनका लागि संगीतको महासागर बन्यो । त्यहाँ डुबुल्की मारेर निस्कँदा उनले शास्त्रीय संगीतमा स्नातकोत्तर गरिसकेकी थिइन् ।

त्यो ६ वर्षको समय जति रोमाञ्चक थियो, त्यति सकसपूर्ण पनि । ‘संगीत सजिलो लाग्थ्यो । कठिन रहेछ भन्ने कुरा त्यहाँ पुगेपछि थाहा पाएँ,’ कठोर साधनामा बितेका  रात र दिनहरू सम्झिन्छिन् संगीता ।

विश्वविद्यालयको अध्ययनपछि रेडियो खर्साङमा उनले स्वर परीक्षण गरिन् । स्वर परीक्षण पास पास भएपछि त्यहाँ सांगीतिक कार्यक्रम चलाउन थालिन् ।

कलकत्तामा तत्कालीन राजा–रानीको जन्मोत्सवमा सांगीतिक कार्यक्रम हुन्थ्यो । गुरु गोपाल श्रेष्ठले त्यो अवसर संगीताको हातमा पनि थमाइदिए । संगीताले त्यतिबेला तारादेवीको गीत ‘फूलको थुङ्गा’ गाइन् । फूलको थुङ्गा गाउँदा जीवनमा अवसरको नयाँ रङ पनि पनि टल्कियो ।

‘त्यही कार्यक्रममा एक जना जेन्टलम्यान आएर भन्नुभयो– तिमी हामीसँग गाउन सक्छौ ? उहाँ मास्टर्स भ्वाइसको निर्देशक हुनुहुँदो रहेछ । त्यो कुराले खुसी लाग्यो । अनि मैले उहाँहरूकै स्पोन्सरसिपमा १२ वटा गीत निकालेँ,’ उनी त्यो क्षण सम्झेर मुस्कुराउँदै सुनाउँछिन्,‘त्यसपछि मानवीर सिंह दाइले म तिमीलाई रेडियो नेपालमा लैजान्छु भन्नुभयो ।’

रेडियो नेपाल खुब सुन्थिन् उनी । नातिकाजी, शिवशंकर, तारादेवी, नारायण गोपालहरूसँग भेट्ने उत्कट चाहना पनि थियो । त्यसपछि त नेपाल आउजाउको क्रम बढ्दै गयो उनको ।

०००

संगीताले निकै श्रद्धा गर्ने संगीतकार थिए गोपाल योञ्जन । गोपालसँग उनको भेट कलकत्तामा भयो । त्यतिबेला गोपाल फिल्म ‘भूमरी’को गीत रेकर्ड गर्न कलकत्ता पुगेका थिए । प्रायः संगीतकारहरूको चाहना हुन्थ्यो, ‘भारतीय गायकको स्वरमा गीत रेकर्ड गराउनु ।’ त्यतिबेला गोपालले निर्णय लिए, ‘मेरा गीत नेपाली खुन, नेपाली माटोले गाउँछ ।’ त्यो स्वर्ण अवसर संगीताले पाइन् । 

Sangeeta Pradhan returns to Palanti after years

‘भूमरी’मा गीत गाएसँगै उनको बसाईं नेपालमा हुन थाल्यो । त्यही क्रममा गोपाल योञ्जनले ललितकला क्याम्पसमा संगीताको परिचय गराए । गोपालले प्रशासनसँग भने, ‘यहाँ एकदम राम्रो गायक आउनुभएको छ । त्यसमाथि शास्त्रीय संगीत सिकेर आउनुभएको । तपाईंहरूले राखिदिनुपर्‍यो ।’ ललितकला क्याम्पसमा उनले प्राध्यापन थालनी गरिन् । ‘म गोपाल दाइको गुन यसकारण पनि कहिल्यै भुल्दिनँ,’ संगीता भन्छिन् ।

‘भूमरी’पछि संगीतालाई ‘राँको’ फिल्ममा गीत गाउने अवसर जुर्‍यो । त्यो अवसर पनि योञ्जनले नै जुराइदिए । गोपालले संगीतालाई भने, ‘गीतमा छानिनुपर्छ । बम्बईबाट निर्देशक आउनुहुनुन्छ । उहाँ चलेको नाम हो । उहाँले छान्नुहुन्छ ।’ छानिन्छु, छानिन्न भन्ने कौतुलतामाझ उनले ती निर्देशक भेटिन् । उनी रहेछन् किशोर रानामगर । किशोरले संगीताको आवाज मन पराए । आवाजमात्र हैन, समयक्रममा उनीलाई नै मन पराए । फिल्म र संगीतसँगै उनीहरूले जीवनमा पनि सहयात्रा गरे ।

‘राँको’पछि त बन्धकी, बाटुली, दुर्गा, अजम्मरी माया जस्ता फिल्म हुँदै उनको सांगीतिक लय झन्झन् फराकिलो हुँदै गयो ।  

०००

संगीतमा बिताएका स्वर्ण समय फर्केर हेर्दा संगीतालाई लाग्छ, ‘त्यो समयमा संगीत उर्वर थियो ।’ अहिले उनलाई त्यो स्वर्णिम समयको न्यास्रो लाग्छ बेलाबेला । ‘लाइभ गाउनुपर्ने । पर्फेक्ट भएर मात्र गाउनुपर्ने । सही कलाकारले स्थान पाउने समय, सुन्दर टिमवर्क,’ उनी समयको घडीमा उल्टो घुमिरहेको संगीतको सुई नियाल्दै भन्छिन्, ‘त्यो बिर्सेर पनि बिर्सन नसक्ने समय अहिले कहाँ छ र ?’ सांगीतिक क्षेत्रबाट संगीत हराउन थालेको महसुस हुँदै आएको छ उनलाई । पछिल्लो पुस्तामा देखिएको साधनाको कमीले संगीतलाई फास्टफुडजस्तो बनाएझैँ लाग्छ उनलाई । ‘धैर्यता छैन, भाइरल हुने मोह छ, विदेश जाने होडबाजी छ । विलासिता र देखासिखी छ । तर संगीत छैन,’ उनी सोचमग्न हुन्छिन् ।

यद्यपि, संगीतलाई संस्कार र अनुशासन मान्ने पुस्ता पनि यहीँ छन् । जो होडबाजीको भीडबाट पर छन् । जोसँग केबल संगीत छ । जसलाई लोकप्रिय हुनुको मोह रत्तिभर छैन । उनको आशा यिनै कुशल सर्जकहरूसँग छ ।

उनीहरूलाई सम्झेर पनि घडीको सुई सुल्टो घुम्ने आशा बाँचिरहेको छ संगीतामा । यसपालिकोे पलेँटी यीनै साधकहरूमा पनि समर्पित गर्न चाहन्छिन् उनी ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully