काठमाडौँ — आज वैशाख १२ गते । १० वर्षअघि ०७२ सालमा आजकै दिन नेपालमा विनाशकारी भूकम्प गएको थियो । ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले नेपाललाई ५५ सेकेन्ड हल्लायाे । यही कम्पनबाट करिब ९ हजार नेपालीको ज्यान गयो । हजारौं घाइते भए ।
भूकम्पले अनपेक्षित मानवीय र भौतिक क्षति गरेको थियो । यही सन्दर्भमा हामीले केही अभिनेतालाई वैशाख १२ को भूकम्प अनुभव सोधेका थियौं ।
केदार घिमिरे
अघिल्लो दिन मेरो जीवनसाथी सीतादेवी तिमल्सिना काभ्रेमा फुपू दिदी भेट्न स्कुटरमा गएकी थिइन् । १२ गते उनको जन्मदिन भएकाले धनेश्वरको दर्शन गर्ने बताइन् । बीच बाटोमा स्कुटर बिग्रिएछ । फोन गरेर भनिन्– स्कुटर बिग्रियो, के गर्ने होला ?
म गाडी लिएर धनेश्वर गएँ । स्कुटर एउटा वर्कसपमा छाड्यौं । धनेश्वरमा गाडी पार्क गरेर सीता मन्दिरमा पसेकी मात्र थिइन्, वरिपरीका पर्खाल हल्लिन थाले । धनेश्वरको मन्दिर तलका टायल-घरहरू हल्लेको देखियो । धुलो र छारो उठेको देखियो । म सुरक्षित हुन्छु कि भनेर शिवलिंगको बीचमा गएर बसेँ । त्यत्रो ढिक्का भक्ल्याक-भक्ल्याक हल्लिरहेको थियो । छोराछोरी घरमा थियो । सात्तो गयो हाम्रो । गाडी हाँकेर छोराछोरीको चिन्ताले काठमाडौं लाग्यौं । बाटो बन्द छ । मान्छेहरू दौडिरहेका छन् । घर आइपुग्दा छोराछोरी सुरिक्षत रहेछन् । ढुक्क भइयो ।
मैले देख्ने गरी भूकम्पको पहिलो अनुभव थियो । भूकम्पको ट्रमा अहिले पनि छ । पछि पनि परकम्प आउँदा अलिअलि हल्लियो कि हामी दौडिएर बाहिर पुगिहाल्छौं । २०/२५ पटक त घरबाट भागियो ।
कहिलेकाहीँ त सोफामा बस्दा कसैले सोफा हल्लाउँदा पनि भूकम्प आएजस्तै हुने रहेछ । आजको दिन पनि त्यो त्रास सम्झिरहेको छु ।
माओत्से गुरुङ
०७२ को वैशाख १२ गते म ‘दोख’ फिल्मको सुटिङमा थिएँ । भोगजपुरको बाघखोरमा भएको थियो सुटिङ ।
त्यहाँ एकजना महिला आर्टिस्ट मेरो श्रीमतीको अभिनय गरिरहेकी थिइन् । हामीले ३/४ दृश्य खिचिसकेका थियौं । सुट गरिसकेपछि उनले फिल्म नखेल्ने भनिन् । उनका श्रीमान् विदेशमा रहेछन् ।
फिल्म खेलेको थाहा पाएपछि श्रीमान्ले थ्रेट दिएका रहेछन् । श्रीमान्ले गाली गरेकाले फिल्म नखेल्ने उनले सुनाइन् । त्यत्रो सिन गरिसकेको थियो । त्यहाँ समस्या उत्पन्न हुने भयो । हामीले उनलाई सम्झाउँदै थियौं । अचानक हामी बसिरहेको घर हल्लियो ।
घर हल्लिएपछि भागाभाग भयो । सबैजना कराउन थाले । सबै सुरक्षित ठाउँमा गएर बस्यौं । मलाई आफ्नो घरको चिन्ता भयो । त्यतिबेला पिलर हालेर घर बनाउँदै थिएँ । परिवारलाई केही भयो कि, घर केही भयो भन्ने डर लाग्यो । फोन लगाएँ । तर फोन लागिरहेको थिएन । रेडियोमा पनि केही आउँदैन । साह्रै चिन्ता भयो । बेलुकातिर समाचार आउन थाले ।
भोलिपल्ट मात्रै मैले घरको खबर पाएँ । बिहानपख फिल्मको निर्माण टोली मिटिङ बस्नुभयो । त्यहाँ कसैको घर भत्कियो, कसैको आफन्तहरूको मृत्यु भयो भन्ने खबर सुनेपछि सुटिङ गर्न सक्ने सम्भावना रहेन । निर्माण पक्षले सिनेमा रोकेर अर्को साल गर्ने निर्णय लियो । सबै त्यहाँबाट फर्कियौं ।
जुन आर्टिस्टले फिल्म खेल्दिनँ भनिरहेकी थिइन् । उनले सोचेको जस्तै भयो । एक वर्षपछि जाँदा मेरो अपोजिटमा अर्कै महिला कलाकारले गर्नुभयो ।
प्रकाश घिमिरे
म मनमोहन कार्डियो अस्पतालमा छोरीको उपचारमा थिएँ । छोरीको अप्रेसन सकेर आइसीयूमा राखिएको मात्र थियो । भूकम्प आएपछि दौडादौड भयो ।
त्यसपछि वीर अस्पताल छेउमा बाहिर निस्कँदा केकी अधिकारी भेटिइन् । उनी भोलेन्टियर भएर आएकी थिइन् । मेरो छोरीको गम्भीर केस थियो । उनले टिचिङतिर मिलाइन् । भूकम्पअघि मनोज पण्डित भेट हुनुभएको थियो । उहाँ चिया खाएर बाहिर निस्कनुभयो ।
त्यसपछि माथि आउँदा त विनाशकारी भूकम्प आयो । म माथि दौडन खोज्छु, सबै मलाई तल धकाल्न खोज्छन् । किनकि मलाई छोरीको चिन्ता थियो । उनी माथि थिइन् । उनलाई के भयो भन्ने डरले हतारहतार गएँ ।
पछि टिचिङतिर राखियो छोरीलाई । कतै निस्किइनँ । छोरीलाई हेरेर बसिरहेँ ।
विजय बराल
भूकम्प आउँदा १२ गतेको दिन अनामनगरको मण्डला थिएटरमा नाटकको रिहर्सलमा थिएँ । नाटकको नाम थियो ‘सिरुमा रानी’ । भित्र रिहर्सल हुँदाहुँदै जमिन हल्लिन थाल्यो ।
मैले भूकम्पबारे सुनेको मात्र थिएँ । महसुस गर्न पाएको थिइनँ । प्रत्यक्ष रुपमा कम्पन देख्दा सुरुमा त विश्वास भएन । किन हल्लिरहेछ भन्ने लाग्यो ।
लगातार हल्लिरहेपछि हलबाहिर निस्कियौं । केहीबेर आत्तियौं । भूकम्प हुँदा लुक्नुपर्छ वा केही चिजबाट मुनि बस्नुपर्छ भन्ने मान्यता थियो । कुकुर कराउँछ वा चरा उड्छ भन्ने मान्यता सुनेको थिएँ । आउँदा केही सोच्न नसकी खाली ठाउँतिर भाग्यौं ।
माहोलले अर्कै परिस्थितितिर पुर्यायो । हामी अर्कै चरित्रको मुड र निर्माणमा थियौं । त्यो मुड ब्रेक गरेर अचानक परकम्पनको मुडमा पुग्यौं । चर्चा त्यसैको मात्र भयो । केही अद्भुत चिज आयो । त्यसबारे बहस गर्नतर्फ लाग्यौं ।
अरु सबै मण्डलाबाहिर त्रिपाल टाँगेर सुते । मचाहिँ मण्डलाको माथि कोठामा सुतेँ । डर लागेन । यो फलामको हो, यसले थिचिन्न केही हुन्न भनेर म त्यहाँ सुत्थेँ । परकम्प आउँदा मलाई थाहै हुन्न थियो । अरु डराएर नजा भन्थे । म केही हुन्न भनेर आफ्नै पारामा जान्थेँ ।
सर्लाहीतिर खासै असरर पारेन । कपनतिर आफन्नत थिए । उहाँहरूलाई फोन गरेँ । उहाँहरू पनि सुरक्षित स्थानमा हुनुहुन्थ्यो ।
त्यो दिन कहाँकहाँ के भयो भनेर मण्डलाको बाइकमा भिडियो खिच्दै हिँडेँ । सबै थिचिएको छ । अनेक अनेक दृश्य देखियो । सामान्य लागेको कुरा त्यसपछि ठूलो रहेछ भन्ने महसुस भयो ।
