अभिव्यक्तिकै कारण घृणाकाे सिकार बन्दै सुरक्षा पन्त तर याे पहिलाे घटना हाेइन

यसअघि राजनीतिक विचार राखेकै कारण प्रकाश सपुतदेखि मह जोडी पनि यस्तै आलोचना र घृणाको सिकार भएका थिए

वैशाख ११, २०८२

समर्पण श्री

This is not the first incident of the security guard becoming a victim of hatred due to his expression

काठमाडौँ — केही दिनयता एक टेलिभिजन कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि सामाजिक सञ्जालमा व्यक्तिगत आक्रमण भइरहेको छ । फरक मत राख्नेभन्दा पनि गालीगलौज गर्ने र विचारलाई नै निषेध गर्ने काम जारी छ ।

उनलाई व्यक्तिगत रुपमा गालीगलौज गर्नेमा राजावादीहरूको समूह सक्रिय रहेको सजिलै बुझ्न सकिन्छ । कतिसम्म भने शुक्रबारबाट प्रदर्शनमा आउन लागेको उनी अभिनित फिल्म ‘खेल’लाई बहिष्कार गर्नुपर्छ भन्ने अराजक अभियान सामाजिक सञ्जालमा केही समूहले चलाइरहेका छन् । अभिव्यक्तिकै कारण फरक मत राख्ने वा फरक विचार निषेध गर्ने समूहबाट आलोचना र घृणाको सिकार भएको यो पहिलो घटना भने होइन । 

यसअघि राजनीतिक विचार राखेकै कारण प्रकाश सपुतदेखि मह जोडी (हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ) पनि यस्तै आलोचना र घृणाको सिकार भएका थिए । 

के थियो घटना ?
रजतपट अनलाइट टीभी नामक युट्युब च्यानलमा तीन दिनअघि सार्वजनिक कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले सुरक्षालाई पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रको तस्बिर देखाउँदै उनीकेन्द्रित प्रश्न सोधेका थिए, ‘भविष्यमा उहाँलाई कुन रुपमा हेर्न चाहनुहुन्छ ?’

सुरक्षाले हृदयेन्द्रको लुक्स राम्रो भएको भन्दै फिल्म इन्डस्ट्रीमा आउन सुझाएकी थिइन् । थपेकी थिइन्, ‘लुक्स राम्रो छ । अभिनय पनि सक्नुहुन्छ होला । कुनै आर्टतिर लाग्नुभयो भने दामी हुन्छ । सिनेमा क्षेत्रमा स्वागत छ उहाँलाई ।’ प्रश्नकर्ता सुवेदीले थप्दै भने, ‘कहीँ कतै उहाँलाई राजा बनाए हुन्छ भन्नेसम्मको अभिव्यक्ति मैले कतै पढेको छु ।’

जवाफमा सुरक्षाले भनिन्, ‘राजा बनाउने भन्ने कुरा कहाँ, हामीले स्वीकारेकै छैनौं । त्यो त भन्न सकिन्नँ ।’

प्रश्नकर्ताले पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो देखाउँदा सुरक्षाले सौहार्दपूर्ण तरिकाले आफ्नो विचार राखेकी थिइन् । उनले पूर्वराजा शाह देशको सामान्य नागरिक, सचेत जनता भनेकी थिइन् ।

प्रश्नकर्ताले सन्दर्भलाई ‘राजा कि गणतन्त्र' भन्नेतर्फ लगिरहँदा सुरक्षाले गणतन्त्रमा भइरहेको प्रणालीलाई नै अझ राम्रो बनाउनुपर्ने मत राखेकी थिइन् । त्यही अभिव्यक्तिलाई लिएर अहिले सुरक्षामाथि सामाजिक सञ्जालमा राजावादीहरूले आक्रोश पोखिरहेका हुन् । त्यो पनि असभ्य र निकृष्ट शब्द प्रयोग गरेर ।

फिल्मकर्मीलाई बोल्नै डर
पछिल्ला दिन स्वतन्त्र रुपमा आफ्नो विचार राख्दा सर्जक तथा फिल्मकर्मीमाथि तारन्तार सामाजिक सञ्जालमा आक्रमण भइरहेका छन् । त्यसैको पछिल्लो कडी मात्रै हो, सुरक्षा पन्तको घटना ।

गत फागुनमा गायक तथा अभिनेता प्रकाश सपुतले ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकर्पणमा प्रधानमन्त्री ओलीको जीवन प्रेरणादायी भएको भन्दै प्रशंसा गरेका थिए । ओलीमाथि प्रशंसा गरेकै कारण उनले सामाजिक सञ्जालमा गालीगलौजको सामना गर्नुपर्‍यो । तुच्छ शब्दमार्फत उनलाई जातीय विभेद पनि गरियो । रिलिज नजिकै रहेको उनको फिल्म ‘वसन्त’ बहिष्कारको अभियानसमेत चल्यो ।

यही घटनाका कारण अहिले त उनी आफ्नो अभिव्यक्ति राख्न पनि हच्किरहेका छन् । केही समयअघि पोखरामा भएको एक सांगीतिक कार्यक्रममा उनले आफू केही नबोल्ने बरु गीत मात्रै गाउने बताएका थिए ।  चैत पहिलो साता पूर्वमा तय भएको एक साहित्यिक महोत्सवमा उनी अतिथि थिए तर अन्तिम समय यही कारण 'क्यान्सिल' गरे ।

लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता वा अन्य राजनीतिक विषयमा आफ्नो विचार राख्नेबित्तिकै कलाकारहरु आक्रमणको सिकार हुन थालेपछि अरु कलाकारसमेत बोल्न हच्किने वा अनौपचारिक कुराकानीमा खुलेर बोले पनि सार्वजनिक अभिव्यक्ति दिनै डराउने अवस्थामा पुगेका छन् ।

सुरक्षामाथि जे भइरहेको छ त्यस विषयमा हामीले केही कलाकारसँग उनीहरुको मत बुझ्न खोजेका थियौं । तर धेरैजसोले जे भइरहेको छ, त्यसमा असहमति राखे तर खुलेर बोल्दा आफू पनि विवादमा तानिने भएकाले नाम सार्वजनिक नगर्न अनुरोध गरे ।

‘यो गम्भीर कुरा हो । बोल्नुपर्ने विषय पनि हो । तर अहिले बोल्ने माहोल छैन । अहिले बोलेका कुरा कतिबेला बाहिर ल्याइन्छ पत्तो हुन्न । निसाना साँधेर बसेका हुन्छन्,’ नाम नखुलाउने सर्तमा एक फिल्मकर्मीले भने । उनले थपे, ‘स्वच्छ रुपमा मनमा लागेको कुरा बोल्न पाउनुपर्छ । त्यो अधिकार नै हो । यसरी बोल्दा अपाच्य शब्दमार्फत गालीगलौज आउँछन् भने कानुनको ढोका ढकढक्याउनुपर्छ ।’

कतिपय अभिनेताहरूको धारणा पनि यही छ । मनमा लागेका कुरा स्वतन्त्रतापूर्वक भन्न सकिने अवस्था नरहेको बताउँदै उनीहरू यस्तो प्रवृत्तिबारे कुरा गर्न अनकनाए ।

नाम नखुलाउने सर्तमा एक फिल्मकर्मीले पनि चिन्ता व्यक्त गरिन् । ‘अहिले बोल्न नै डराउनुपर्ने अवस्था छ । राम्रो कुरा बोल्दा पनि बढी जान्ने भयो भनेर खेद्ने डर छ । समय सान्दर्भिक तटस्थ हुनुपर्ने त होला,’ उनले भनिन्, ‘बोल्न पाउनु मानिसको चाहनाको कुरा हो । के मन पर्छ, के मन पर्दैन भनेर उसले कुनै पक्ष लिन पाउँछ । तर अहिले त केही बोल्यो कि तनाव हुन्छ ।’

सुरक्षाले भने आफूमाथि भइरहेको साइबर आक्रमणबारे कुनै प्रतिक्रिया दिएकी छैनन् । बुधबार साँझ फिल्म ‘खेल’को प्रिमियरमा युट्युबरहरूले ‘राजावादी तपाईंमाथि भड्किरहेका छन् नि’ भन्दै प्रश्न तेर्स्याए । तर उनले कुनै प्रतिक्रिया दिइनन् । पटकपटक प्रश्न आइरहँदा उनले भनिन्, ‘नो कमेन्ट, नो पोलिटिकल क्वेस्चन ।’

मानवअधिकारकर्मी मोहना अन्सारी सुरक्षाले आफ्नो अभिव्यक्ति सभ्य तरिकाले प्रस्तुत गरेको बताउँछिन् । ‘हुन त त्यो इन्टरभ्यु नै कन्ट्रोभर्सी निम्त्याउने खालको हो । उहाँको शोमा जहिल्यै यस्तै कुरा आउँछ,' अन्सारीले भनिन्, ‘सुरक्षा आफैंमा अध्ययनशील र बौद्धिक हुनुहुन्छ । उहाँ होच्याउने, गालीगलौज गर्नेजस्ता काम कहिल्यै गर्नुहुन्न । अहिले सभ्य भाषामा केही कुरा भन्दा पनि गालीगलौज आइरहेका छन् । गालीगलौज र कसैलाई अपाच्य शब्द बोल्नु हाम्रो परम्परा होइन ।’

यसो हुनुको कारण युवापुस्तामा भएको निराशा ठान्छिन् मोहना । तर यसले सौहार्दपूर्ण वातावरण निर्माण नगर्ने उनी बताउँछिन् । ‘यसरी अपाच्य शब्द र गाली गलौजविरुद्ध सुरक्षाले कानुनी उपचार खोज्नुपर्छ । यसलाई निरुत्साहित गर्नुपर्छ । विचार राख्न मान्छेहरू स्वतन्त्र छन्,’ उनी भन्छिन् ।

This is not the first incident of the security guard becoming a victim of hatred due to his expression

हास्य कलाकार मनोज गजुरेल पछिल्लो समय राजनीतिक अस्थिरता, सामाजिक सञ्जालको सर्वपहुँच र त्यसलाई नियमन नगर्दा यस्ता समस्या आइरहेको बताउँछन् । ‘आफ्नो विचार राख्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो । सभ्य ढंगमा राखिएका विचारमा पनि सामाजिक सञ्जनालमा आउने नेगेटिभ गालीले हाम्रो समाज कतातिर गइरहेको छ भन्ने प्रश्न उठ्छ,’ उनी भन्छन् ।

समाजलाई पुरानै लयमा फर्काउन, विचारको स्वतन्त्रलाई सम्मान गर्न सबै पक्षले पहल गर्नुपर्ने उनी बताउँछन् । ‘अहिले सत्य बोल्ने मान्छे पनि बोल्न डराइरहेका छन् । अब हामीले सभ्य भाषामा आफ्नो विचार राख्ने अभियान नै चलाउनुपर्ने देखिन्छ,’ मनोज भन्छन् ।

फिल्म निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ सही कुरा भन्नका लागि पनि अहिले सही माहोल नभएको बताउँछन् । ‘अहिले देशको माहोलका कारण मानिसहरू आँखामा आगो बोकेर हिँडिरहेका छन् । धमिलो बाढीमा मुढा बगाउनेहरू छन् । त्यही मौकामा केही आफ्नो एजेन्डा लादिरहेछन्,’ उनी भन्छन्, ‘कतिपय कुरा कहाँ कुन परिस्थितिमा भन्ने कि नभन्ने भनेर सोच्नुपर्छ । सही कुरा पनि सबै ठाउँमा बोल्दा ठिक हुन्छ भन्ने हुन्न । परिस्थिति बुझेर बोल्नुपर्ने अवस्था छ ।’ 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully