काठमाडौँ — गायक तथा संगीतकार उज्ज्वल सागरले प्रस्तुति दिँदैछन् । वैशाख ६ मा झम्सिखेलस्थित 'मोक्ष'मा सागर आफ्नो ब्यान्डसहित प्रस्तुति दिँदैछन् ।
'ब्यान्डसँग लाइभ प्रस्तुति दिनु मेरो सपना थियो तर केही कारणवस यो पूरा हुन सकेको थिएन । गीतहरु रचना गर्ने र गाउने यात्राको निरन्तरतासँगै विभिन्न कलाकारहरुसँग सहकार्य गर्दै आइयो, अन्ततः यसपालीदेखि लाइभ कन्सर्टको सुरुवात भयो,' सागरले भने ।
रैला प्रोडक्सनको आयोजना र आइडिया हबको सञ्चालनमा आयोजना हुने कार्यक्रममा उज्ज्वलकै लोकप्रिय गीतहरु गुन्जिनेछन् । केही अग्रज कलाकारका सम्मानमा पनि उनीहरुका गीतमाथि प्रस्तुति हुनेछ । 'सुनन, तिमी खुसी त छौ नि ?', 'सुनाखरी,' 'दैलो', 'सन्नाटा', 'मिर्मिरे', 'छायाँ', 'धून' लगायतका गीत सागरका चर्चित गीतहरु हुन् ।
गिटारमा नरेन मोक्तान र विश्व अधिकारी, ड्रममा रिदम बोगटी, बाँसुरीमा रुपेश शाक्य, किबोर्डमा निल घतानी, बेस गिटारमा जय लामा दोङ, तबलामा आयूस धिताल र साउण्ड इन्जिनियरका रुपमा सबिन शाक्यले सागरलाई साथ दिनेछन् ।
