काठमाडौँ — गायिका झुमा लिम्बूको नयाँ गीत ‘काफ्ले’ मंगलबार सार्वजनिक भयो । फिल्म ‘ऊनको स्वीटर’मा समावेश यो गीतमा झुमासँगै गायक सुजन चापागाईंको पनि स्वर छ ।
गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल कथा देख्न सकिन्छ । गीतमा युवराज काफ्लेको शब्द रहेको छ ।
गायिका लिम्बूले ‘काफ्ले’ गीत उनको बाल्यकालको सम्झनासँग जोडिएको बताइन् । भनिन्, ‘ गीतमा मेरो बाल्यकाल पनि भेटाउँछु । काफ्लेको बारेमा गीत बनाउन खोजिरहँदा काफ्ले गाउँमै जन्मे हुर्किएको थाहा पाउनु संयोग हो ।’
यो गीतको भिडियो फिल्म ‘ऊनको स्वीटर’को कथासँग सम्बन्धित छ ।
फिल्मका निर्देशक नवीन चौहानले फिल्म 'रियलिस्टिक अप्रोच'बाट बनाइएकाले गीतलाई पनि यथार्थपरक शैलीमा प्रस्तुत गरिएको बताए ।
फिल्ममा विपिन र मिरुनासँगै सुरुज तमु, विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, भावना खपाङ्गी मगरलगायतका कलाकारको अभिनय रहेको छ ।
