खोटाङ — कलाकार दयाहाङ राईले युवाहरूले देशमा केही भएको छैन भन्ने निरासाजनक धारणा राख्न नहुने बताएका छन् । रेड पान्डा तथा थार महोत्सवमा बोल्दै राईले पछिल्लो अवधिमा देशमा निरासाजनक धारणा स्थापित भएकाले यथार्थमा त्यस्तो नभएको बताएका हुन् ।
पछिल्लो समय देशमा धेरै विकास भइरहेकाले त्यसलाई स्वीकार्न आग्रह गरेका छन् । ‘१०-१५ वर्षअगाडिको हाम्रै गाउँलाई हेर्ने हो भने धेरै परिवर्तन भएको देख्न सकिन्छ, अबको पाँचदेखि सात वर्षमा हामीले भनिरहेको विकासको सबै काम सकिन्छ, त्यसपछि स्थानीय तहमा आउने बजेट केमा लगानी गर्ने, कहाँ लगानी गर्ने, कस्तो विकास गर्ने सबै युवाको हातमा छ,’ राईले भने, ‘त्यही भएर निरासाजनक धारणालाई चिर्ने जिम्मेवारी पनि हामी युवाहरूको हो ।’
राईले प्रकृतिलाई ध्यानमा राखेर विकासमा जोड दिनसमेत आग्रह गरे । विकासका नाममा विनास हुँदै गएकाले त्यसलाई ध्यान दिन आग्रह गरेका हुन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजनामा वैशाख १ र २ गते भएको रेड पान्डा तथा थार महोत्सवमा विशेष अतिथिका रूपमा बोल्दै राईले पृथ्वीमा रहेका सम्पूर्ण प्राणीहरू जोगाउनु पर्ने धारणा राखे ।
‘जल, जमिन, जङ्गलमा रहेका जुनसुकै प्राणीहरू हराउँदै जानु भनेको चाहिँ पृथ्वीको आयु पनि हराउनु हो, त्यसैले सम्पूर्ण प्राणी जोगाउनु पर्छ,’ रेड पान्डा संरक्षणका दूतसमेत रहेका राईले भने, ‘विश्वका पाँच देश नेपाल, भारत, चीन, म्यानमार, भुटानमा पाइने रेड पान्डा विशेष गरी हाम्रोमा पाइन्छ, यसको संरक्षण गरी प्रकृतिलाई समेत जीवित राख्दै पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।’ राईले पर्यटन प्रवर्द्धनका लागि रैथाने बीउ बीजन संरक्षण गर्नुपर्नेसमेत बताएका छन् ।
