काठमाडौँ — फिल्म ‘झोला’का निर्देशक यादव भट्टराई ‘भोर’पछि लामो समय निर्देशनमा मौन थिए ।
पछिल्लो समय नयाँ फिल्म ‘झिल्को’सँगै उनले कमब्याक गरेका छन् । यसपटक ‘झिल्को’मार्फत उनले डिजिटल युगमा बालबालिकाको मनोविज्ञानको कथा भनेका छन् ।
मोबाइल, ट्याब्लेट, टेलिभिजन, कम्प्युटरजस्ता उपकरणको अनावश्यक प्रयोगले बालबालिकामा परेको शारीरिक र मानसिक असरको कथा भन्ने फिल्मको नयाँ पोस्टर पनि सार्वजनिक भएको छ ।
फिल्म वैशाख १९ गते रिलिज हुँदै छ । पोस्टरमा स्कुले पोसाकमा रहेकी बालिकाको मनोदशा झल्काउन खोजिएको छ ।
फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनिश श्रेष्ठ, र जेभिश श्रेष्ठको अभिनय छ ।
दीपक बज्राचार्यले खिचेको फिल्म यादव भट्टराई, अरुणदेव जोशी र देव व्रतले लेखेका हुन् ।
