'जार'जस्तो फिल्म हत्तपत्त बन्दैन - सौगात मल्ल

चैत्र २८, २०८१

कान्तिपुर संवाददाता

A film like 'Jar' is not made in haste - Saugat Malla

काठमाडौँ — अभिनेता सौगात मल्लले 'जार'जस्तो फिल्म हत्तपत्त नबन्ने बताएका छन् । फिल्मको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा अभिनेता मल्लले 'जार' आफ्ना लागि निकै विशेष रहेको पनि बताए । 

'मैले पनि कुरेर बसेको छु यो फिल्म । खासमा मैले पहिल्यै यो कथा पढेको थिएँ । त्यतिबेला कथाको पात्रजस्तो हालत भयो भने के हुन्छ होला भन्ने लाग्थ्यो,' सौगातले भने । 

फर्वा छिरिङ लामाको निर्देशनमा बनेको यो फिल्ममा अभिनेता सौगातसँगै अनुप विक्रम शाहीको पनि अभिनय छ । मल्लका अनुसार फिल्मका लागि अनुपले खुबै मिहिनेत गरेका थिए । अनुप आफैँ पनि यो फिल्मलाई चार वर्षदेखि पर्खिरहेको बताउँछन् । 'चार वर्ष कुर्‍यौं हामीले । यसमा मिहिनेत एकदमै गर्नुपरेको थियो । खासमा यो फिल्मको विशेष कुरा नै इन्द्रबहादुर राईको कथालाई निर्देशकले फिल्ममा उतार्नु भएको छ,' अनुपले भने । निर्देशक लामा फिल्ममा काम गरेका तीन जना कलाकार बितिसकेका हुनाले पनि ट्रेलर सार्वजनिक कार्यक्रममा भावुक देखिए । 'यो फिल्मले गर्दा नेपाल, भारत र सिक्किम जोडेको छ । यसमा नेपालदेखि भारतका मानिसहरू जोडिएका छन्,' निर्देशक लामाले भने । 

'जार' इन्द्रबहादुर राईको कथामा आधारित फिल्म हो । यो फिल्ममा गायिका झुमा लिम्बूले संगीत भरेकी छन् । निर्देशक फिल्मको संगीतलाई लिएर निकै गम्भीर भएको हुँदा पनि आफूहरुले धेरै मिहिनेत गर्नुपरेको झुमाको अनुभव छ । 

'संगीत गरेको २० वर्ष भइसक्यो । तर, यति घोटिएर काम गरेको यही फिल्ममा हो । यो फिल्मको निर्देशक एउटा राम्रो कम्पोजका लागि डेढ वर्ष पनि कुर्न सक्ने किसिमको हुनुहुन्थ्यो । कुनै कम्पोज छिरिक्क बिग्रिँदा दोहोर्‍याएर काम गर्न लगाउनु हुन्थ्यो,' झुमाले भनिन् । 'जार' वैशाख २६ देखि प्रदर्शनमा आउनेछ ।  यही मितिमा नवीन चौहान निर्देशित 'ऊनको स्वीटर' पनि प्रदर्शनमा आउँदैछ ।

कान्तिपुर संवाददाता

Link copied successfully