काठमाडौँ — निर्देशक सुरेन्द्र पौडेलको नयाँ फिल्म 'वरिष्ठ बलराम'को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा खिचिएको फिल्मको छायांकन ३६ दिनमै सकिएको हो ।
'हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न सफल भएका छौं । कथाले मागेको लोकेसनमा चाहेजसरी छायांकन गरेका छौं । अब पोस्टप्रोडक्सनमा पनि मिहिनेत गर्नेछौं र दर्शकले चाहेजस्तै चलचित्र निकाल्ने छौं,' निर्देशक पौडेलले भने ।
फिल्मको कथा सामाजिक कथावस्तुमा आधारित छ । फिल्ममा अभिनेता दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतको अभिनय छ । फिल्मलाई आगामी कात्तिक ३ मा प्रदर्शन गर्ने तयारी छ । फिल्मको कथा महेश दवाडीले लेखेका हुन् ।
मानकृष्ण महर्जनले खिचेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी छ ।
