बहुरुपिया-विपीन 

चैत्र २७, २०८१

रीना मोक्तान

Bahrupiya-Vipin

काठमाडौँ — हरि बने हरि हुन्छन्, भस्मे बने भस्मे डन । अभिनेता विपीन कार्की जस्तो चरित्रमा अभिनय गर्छन्, उस्तै देखिन्छन् । चरित्रजस्तो देखिनु विपीनको पहिचान बनिसक्यो । डन बन्नुपरे, डनको पारा निकाल्छन् । भुइँमान्छे बन्नुपरे उस्तै सामान्य, सरल देखिन्छन् । कमला माई बन्नुपरे सारीमा चिट्टिक्क सजिएर लचकदार बनिदिन्छन् । असली नामले भन्दा चरित्रले चिनिन्छन् । त्यसैले भर्सटाइल अभिनेताको ट्याग पाएका छन् उनले । आखिर विपीन कसरी चरित्रपिच्छे फरक देखिन्छन् त ? कसैले सोधिहाले ठट्यौली शैलीमा चरित्र सुहाउँदो बन्न ‘थोपडा’ ले नै साथ दिएको जवाफ दिन्छन् ।

मेरो शारीरिक बनोटप्रति म धन्य छु । नयाँ पहिरन लगाउनेबित्तिकै, जुँगा पाल्नेबित्तिकै सबैको अनुहारमा फरकपन देखिँदैन, मेरोमा देखिन्छ । जन्मजात नै मैले यो कुरा पाएको हो कि जस्तो लाग्छ, त्यसैले आमाबुबाप्रति कृतज्ञ छु,’ विपीन सुनाउँछन्,’ अरूले हेर्दा गाह्रो भयो होला भन्ने लाग्ला तर मलाई बानी परिसक्यो चरित्रजस्तो बन्न । जति टिमसँग काम गरेको छु, उनीहरूले मलाई त्यस्तो क्यारेक्टर बन्न साथ पनि दियो ।’

नयाँ फिल्म, नयाँ चरित्र, विपीन वास्तवमा बहुरुपिया नै हुन् । प्रदर्शनको तयारीमा रहेको ‘कर्मा’ मा चरित्र त भिन्नै देखिने छन् । चट्ट मिलेको कपाल, जुँगाको रेखी अनि बाँकी मिलेको शरीर । झट्ट हेर्दा ‘कर्मा’ को यो पात्र परम्परागत ‘हिरो’ देखिन्छ । यो पटक ‘लार्जर द्यान लाइफ’ पात्रको अभिनयमा उनी देखिँदै छन् । ‘हामीकहाँ अहिले पनि फिल्म अभिनय भनेको लार्जर द्यान लाइफ नै हुनुपर्छ भन्ने छ नि । अहिले ट्रेन्ड पनि आइरहेको छ । मेरा लागि यो पहिलो अनुभव हो,’ कर्माको चरित्र सम्झँदै उनले भने ।

बाहिरी लुक्स त देखिने पाटा भए । नदेखिने पक्ष हुन् विपीनले चरित्र निर्माणमा गर्ने ‘कोसिस’ । सुरुमा चरित्रको ‘बडी ल्यांग्वेज’ मा ध्यान दिन्छन् । हाउभाउ सोच्छन् । पहिरिने लुगामै पनि चरित्रको सुगन्ध खोजिहिँड्छन् । कुनै पात्र बनाउनुभन्दा अगाडि तीन कुरा खोज्न कहिल्यै छुटाउँदैनन् । पहिलो– उक्त चरित्रले विश्वास गर्ने संस्कृति । दोस्रो– आर्थिक धरातल के हो ? तेस्रो– पढाइ/लेखाइ, कुन भूगोलमा त्यो पात्र बाँच्छ ? जस्तै तराईमा बस्छ भने पात्रले गम्छा लगाउला ? पहिरनले भेग छुट्याउन मद्दत गर्छ ।

Bahrupiya-Vipin

पात्रले विश्वास गर्ने धर्म जानिसकेपछि पनि त्यो चरित्रका अन्य आयाम भेटिँदै जान्छन् । जस्तै, आर्थिक हैसियत ठूलो छ भने महँगा लुगा पहिरेलान् । ‘कस्ट्युमले चरित्र बनाउन सहयोग गर्छ । स्क्रिप्टमा भएका कुराले पनि सहयोग गर्छ । त्यसमाथि पात्रले समात्ने लवजमा काम गर्ने कोसिस गर्छु,’ विपीन चरित्र निर्माण प्रक्रिया सुनाउँछन्, ‘असनभित्र बस्ने मधेशी छ भने मैथिली बोल्नेले पनि नेवार भाषा जानेको हुन्छ । यस्ता कुराहरू चरित्र निर्माण गर्नुअघि थोरै रिसर्च गर्छु । त्यसैले पनि फरक देखिन मद्दत गर्छ ।’
‘कर्मा’ का लागि विपीनले शरीर घटाए । निर्देशक सौरभ चौधरीले शरीर घटाउन अह्राएका थिए । छायांकन अवधिभर उसिनेका खानेकुरा मात्रै खाए । भात छाडे । काउली, गाँजरदेखि माछा सबै उसिनेकै । कसरतसँगै ‘डाइट’ मा ध्यान दिँदा शरीर घट्दै आयो । ४ महिना शरीर घटाउनुको एउटै उद्देश्य थियो, पात्र प्रहरीजस्तो देखियोस् । दर्शकले त्यो चरित्रलाई विश्वास गरिदियोस् । ‘चरित्रलाई विश्वास दिलाउन घट्नु नै थियो, अनावश्यक एब्स बनाइनँ । त्यो चरित्रलाई पत्याइनुपर्छ भन्ने लाग्यो । त्योभन्दा अगाडि त पेट पनि ड्याम्म लागेको थियो,’ विपीन सुनाउँछन् ।

‘कर्मा’ का निर्देशक चौधरी विपीनको यस्तै मिहिनेत देखेर उनलाई अनुशासनमा बस्ने कलाकारका रूपमा चर्चा गर्छन् । ‘अनुशासनमा बस्ने कलाकार हुनुहुन्छ उहाँ, चरित्रका लागि चाहिने परिवर्तनका लागि उहाँ तयार हुने कलाकारमै पर्नु हुन्छ,’ सौरभले विपीनको तारिफ गर्दै भने ।

पर्दामा फरक देखोस् भन्ने धेयले नै चरित्र निर्माणमा मिहिनेत गर्छन्, विपीन । ‘एक भागवत एक गीता’ मा उनी यौनिक तथा अल्पसंख्यक समुदायको पात्र बने । भोगेको/देखेको चरित्र बन्न त गाह्रो हुँदैन । धनी बन्न आफूसँग पैसा भएको समय सम्झे पुग्यो । अथवा, कोही धनी व्यक्तिलाई हेर्न सकिएला । तर, यौनिक तथा अल्पसंख्यक समुदायको कुनै चरित्र बन्न त उनीहरूका भित्री भावलाई छुनुपर्‍यो । त्यो भित्री भावनालाई समात्न धेरै मिहिनेत परेको सुनाउँछन् । ‘त्यतिबेला मसँग अभिनय गर्ने चरित्रहरू रियल नै हुनुहुन्थ्यो । उहाँहरूसँगको उठबसले पनि त्यो चरित्र बनाउन सजिलो भयो । उहाँहरू त्यहाँ हुनुहुन्थेन भने त जति रिसर्च गरेको भए मुख्य कुराहरू हराउँथ्यो होला,’ विपीन सुनाउँछन् ।

छायांकनको ६/७ दिन त कमला माई बन्न गाह्रै पर्‍यो । तर, छायांकन अगाडि बढ्दै जाँदा उक्त चरित्रको आत्मा समाते, त्यसपछि विपीनलाई काम गर्न मज्जा आयो । सारी पनि मज्जाले लगाउन जाने । ‘सुरुमा त मेकअपको बहिनीले लगाइदिन्थिन् । सुटिङमा त यति लगाउनुपर्‍यो कि पछि त आफैंले लाउन थालें, प्रो भइयो,’ उनले हाँस्दै सुनाए ।

पटकथा र निर्देशकको चाहनाअनुरूप चरित्र निर्माण गर्छन् उनी । चरित्र सुहाउँदो अभिनयपछाडि विपीनले समात्ने सूत्र यही हो । ‘एक्टरले कसलाई के मनपर्छ, के बिक्छ भनेर चरित्र बनाउने होइन । मेरो निर्देशकले कस्तो चरित्र चाहन्छ, त्यस्तो बनाउनुपर्छ,’ उनले भने ।

विपीनको करिअरमै अत्यधिक रुचाइएको चरित्र दिएका निर्देशक दीपेन्द्र के खनालका अनुसार विपीन चरित्रमा घोत्लिरहने कलाकार हुन् । विपीन अक्सर अरू चरित्रको छायांकन भइरहँदा पनि आफ्नो चरित्रमा डुबिरहेका हुन्छन् । ‘हामीले पनि अलिअलि बल गर्नुपर्छ । सोचिराख्यो भने चरित्रको त्यही जोनमा हुन्छौं । घरमा हुँदा बस्नुपरेन तर सेटमा हुँदा त चरित्रको जोनमा बस्नुपर्छ जस्तो लाग्छ,’ उनले भने । सेटमा पनि आफ्नो संवाद मनमनै रिहर्सल गरिरहन्छन् । ‘अरूको सुटिङ हुँदा कतै कुनामा त्यही क्यारेक्टरमा बसिरहेको हुन्छ विपीन,’ पशुपति प्रसाद निर्देशक दीपेन्द्रले भने ।

विपीनको लगनशीलता पनि बेग्लै छ । आज सुटिङको ‘प्याकअप’ हुन्छ, भोलिपल्टको सेड्युल मागिहाल्छन् । कारण भोलिपल्टको तयारी अघिल्लो रातमै अभ्यास गर्न सकियोस् । भोलिपल्ट सेट पुग्नेबित्तिकै जुन दृश्य खिच्ने हो, त्यसलाई मनमनै दोहोर्‍याइरहन्छन्, परीक्षा कक्षभित्र पस्नुअघि विद्यार्थीले अन्तिमपल्ट नोट पढेझैं । यसरी काम गर्दा विपीनलाई कतिले ‘ठूलो बन्यो’ भन्न पनि भ्याउँछन् । ‘कोही छेउमा आउँदा पनि म बोलिरहेको हुँदिनँ । उनीहरूलाई लाग्दो रहेछ विपीन बोलेन, मतलब गरेन भनेर । आफूलाई कति टेन्सन भइरहेको हुन्थ्यो । आफूलाई भने एकछिन भए पनि तयारी गर्ने समय पाइदियोस् भन्ने लागिरहेको हुन्छ,’ विपीनले भने, ‘केही कारणवश त्यहाँ सुटिङ रोकियो भने म खुसी हुन्छु । व्यक्त त गर्दिन तर मलाई भोलिको दृश्यका लागि तयारी गर्ने अझै समय पाइयो भन्ने लाग्छ ।’

‘पशुपति प्रसाद’ मा भस्मे चरित्रका लागि दीपेन्द्रले पशुपतिमा देखिने पात्रको रिफ्रेन्स दिए, सुकेको स्वर बनाउनुमा विपीनकै कला जोडियो । ‘छड्के’ को बिन्दु पात्रले चिनाए पनि ‘ताण्डव’ को ड्राइभर र कालोपोथीको दलित चरित्रले खासै नोटिस गराइरहेको थिएन । सुन्तलीको चोरले चिनाएन । आफू चिनिनुपर्छ भन्ने विपीनको दिमागमा थियो । एक दिन रिहर्सल गर्ने क्रममा संवाद बोल्दै गर्दा आवाज सुक्यो । अरे यो पो सुहायो कि । टाउको पनि सफाचट । झ्याप्प सुकेको स्वर सुहायो भन्ने लाग्यो । निर्देशकसँग आवाज सुकेको बहाना बनाउँदै २/३ दिन त्यसरी नै बोलिसकेपछि एक दिन भने– यस्तै आवाजमा बोल्दा के होला ? निर्देशक खनाललाई तनाव, फेरि पुरानै आवाज फर्कियो भने ? आफूले सुकेको आवाज निकालेको वास्तविकता सुनाइदिए अनि जन्मियो भस्मे चरित्र । विपीनलाई रंगमञ्चको पृष्ठभूमिले नै चरित्रप्रति यस्तो लगनशील हुन सिकाएको हो ।

‘जात्रा’ को फणीन्द्र पात्रले पनि चरित्र चित्रणमा विपीनको लगाव देखाउँछ । निर्देशक प्रदीप भट्टराईका अनुसार विपीन निर्देशकका लागि सहज कलाकार हुन् । एउटा समयमा एउटा फिल्म गर्छन्, एउटा फिल्म गर्दा अर्को चरित्रको आत्मा बोकेर आउँदैनन् । ‘फिल्म निर्माण सामूहिक कार्य हो । त्यसैले एकअर्काका लागि सहज भइदिनुपर्छ,’ विपीन सुनाउँछन् ।

सम्बन्ध, परिवारका मिहिन तत्त्वमा निर्देशक भट्टराई कस्तो छन् त ? फणीन्द्र चरित्र बनाइरहँदा विपीनले प्रदीपलाई खुबै नियाले । ‘यस्तो गर्नु न’ एक दिन अचानक निर्देशक भट्टराईले यत्ति भन्दा विपीनले फणीन्द्र चरित्र उनमै भेटे । प्रदर्शनको तयारीमा रहेको ‘ऊनको स्वीटर’ मै पनि विपीन ९० को दशकका पात्रझैं देखिएका छन् । ‘यो फिल्मबाट एकदम आशा गरेको छु । एउटा राम्रो फिल्म दर्शकले हेर्न पाउनु हुनेछ । एउटा गर्व गर्न लायक अर्काइभमा राख्न मिल्ने फिल्म यो बन्नेछ भन्ने आशा छ,’ उनी सुनाउँछन् ।

‘ऊनको स्वीटर’ गर्दा विपीनले ‘सेल्फी किङ’ को चरित्र गोपाललाई दुरुस्तै बाँचे । उता सेटमा बुबा बितेको दृश्यमा अभिनय गर्दै थिए, यता काठमाडौंमा आमा बितिन् । ‘सेल्फी किङ’ मा यस्तै दृश्य छ । हास्यकलाकार गोपाल प्रस्तुति दिन मञ्च उक्लिरहँदा यता काठमाडौंमा बुबा बित्छन् । मञ्चदेखि काठमाडौंसम्मको यात्रा गर्नुपर्छ गोपालले । विपीनले जुन दिन आमा सिकिस्त छन् भन्ने खबर पाए, त्यही दिन घाटमा उस्तै दृश्यमा अभिनय गरिरहेका थिए ।

सेटमा बुबाको लास जलाइरहेको दृश्य चल्यो, विपीनको कपाल खौरियो । यता आमा बितेको खबरसहितको फोनको घण्टी बज्यो । विपीनको फोन स्वीच अफ, साथीभाइ–साथीभाइ हुँदै लाइटको एक जना भाइले उनीकहाँ खबर पुर्‍याए । ‘अरूको जीवनमा त घटना घट्छ अनि मात्र त्यस्तो दृश्यमा अभिनय हुन्छ । मैले त फिल्ममा अभिनय गरिसकेपछि फेरि वास्तविक जीवनमा भोग्नुपर्‍यो,’ आमा बित्दाको क्षण सम्झँदै विपीन भन्छन्, ‘घाटवाला दृश्य सकेर फर्कंदा सुटिङको गाडीमा सबै स्तब्ध थिए । अरू बेला दिनको अन्तिम दृश्य खिचेर फर्कंदा गाडीमा रमाइलो गर्दै फर्किने हुन्छ, त्यतिबेला सुनसान थियो ।’ 

विपीन चरित्रलाई लिएर मात्र सचेत छैनन्, देशका विद्यमान विषयमा सिधा विचार राख्छन् । गणतन्त्रवादी र राजावादीबीच हालै भएको प्रदर्शनीलाई लिएर उनको एउटै भनाइ छ, ‘देशमा कुनै वाद/तन्त्र/पार्टी होइन, देशमा सुशासन चाहियो ।’ ‘यस्तै अव्यवस्थित नभइदियोस्, राजनीति स्थिर होस् भन्ने सर्वसाधारणको विचार नै मेरो विचार हो । देशमा सुशासन चाहियो । देश सुखी होस्, सम्पन्न होस्, ‘विपीनले भने, ‘सबै नेपालीको आर्थिक उन्नति होस्, पलायन भएकाहरू फर्केर आऊन् । सबै नेपालीको राम्रो होस् ।’

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully