गोकर्णेश्वर गुन्जिँदै नेपथ्य

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

Gokarneshwar was humming

काठमाडौँ — अस्ट्रेलियाको सांगितिक टुर सकेर स्वदेश फर्केलगत्तै नेपथ्यले चैत ३० मा गोकर्णेश्वर कन्सर्ट गर्ने भएको छ । मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङले भने, ‘अस्ट्रेलियाको शृंखलाबद्ध कन्सर्ट सकेर फर्कियौ । अब गोकर्णेश्वरमा ब्यान्डलाई प्रस्तुत गर्ने तयारीमा लागिसकेका छौं । कन्सर्टमा नेपालभित्रका दर्शकसँग जम्काभेट हुनेछ ।’

नेपथ्यले दुई वर्षपछि काठमाडौं उपत्यकामा कन्सर्ट गर्न लागेको हो । यसअघि २०७९ पुसमा नेपथ्यले भृकुटीमण्डपमा प्रस्तुति दिएको थियो ।

नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले काठमाडौं उपत्यकाका नगरपालिकाहरू जनसंख्याका हिसाबले नेपालका अरू धेरै सहरभन्दा ठूलो भएको बताउँदै ती ठाउँमा पनि छुट्टै कार्यक्रम हुन सक्छ भन्ने अध्ययन गरिरहेका बेला गोकर्णेश्वरको प्रस्ताव आएको बताए । उनले भने, ‘विदेशका आधुनिक र प्रविधिसम्पन्न हलहरूको अनुभव लिएर आएको ब्यान्डलाई गोकर्णेश्वरका दर्शकमाझ पनि उत्तिकै स्तरमा उभ्याउने तयारीमा लागेका छौं ।’

कन्सर्ट गोकर्णेश्वरस्थित हनुमानचोक नजिकै खुला मैदानमा हुनेछ । यसलाई स्थानीय तन्नेरीहरूको समूह ‘ग्राउन्ड अफ इभेन्ट्स’ले प्रस्तुत गर्न लागेको हो । गोकर्णेश्वरको कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

कान्तिपुर

Link copied successfully