ब्यान्ड स्थापनाको ३० औं वर्षमा ‘१९७४ एडी’ले तीन घण्टा लामो प्रस्तुतिबीच दर्शकलाई कहिले प्रेमिल भावहरूमा डोर्याए त कहिले दुखेका हृदय छाम्न लगाए । ब्यान्डले घण्टौं आफ्ना मायाप्रेमका गीतहरूदेखि बिछोड र देशप्रतिको भक्तिभावमा दर्शकलाई झुमाए ।
काठमाडौँ — ‘तिमीलाई पिरतीले बाँधौंला’ बोलको गीतलाई जब फिरोज स्याङ्देनले गाए, अनि सुरु भयो– ‘रक यात्रा २ ।’ करिब पाँच मिनेटको इन्स्ट्रुमेन्टलपछि लोक प्रिय ब्यान्ड १९७४ एडीले सुरु गर्यो, ब्यान्डको अन्तिम यात्रा ।
खासमा ‘रक यात्रा २’ लाई ब्यान्डको अन्तिम यात्राका रूपमा प्रचार गर्दै आएको थियो । सन् २००२ मा ब्यान्डले दशरथ रंगशालामा गरेको रकयात्रालाई अहिलेसम्मकै अत्यधिक दर्शकसहितको ऐतिहासिक कन्सर्ट मानिन्छ ।
त्यतिबेला रंगशालाभित्र ३० हजार र बाहिर ३० हजार दर्शक रहेको चर्चा चल्ने गर्छ । तर, ब्यान्डले ‘रकयात्रा २’लाई यस्तै भव्य दर्शकको बीचमा गरिने कन्सर्टका रूपले अन्तिम भन्दै प्रचार गरेको थियो । शनिबार हयात चौरमा १० हजार बढी दर्शक उपस्थित थिए ।
दर्शकले ब्यान्डको थुप्रै चर्चित गीतहरूमा कम्मर मर्काए, प्रेमिल भावका गीतहरूमा झुमे अनि हृदय दुखाउने ‘मुटु भरिभरि’जस्ता गीतहरूमा फेरि दुखेका मुटु छामे । कहिले ‘मन त मेरो नेपाली हो’भन्दै हयातको चौरमा नेपाली हुनुको गर्व गरे त, कहिले ‘रातो र चन्द्र सूर्य’ गाउँदै देशप्रति भक्तिभाव प्रकट गरे ।'
ब्यान्ड स्थापनाको ३० औं वर्षमा ‘१९७४ एडी’ले तीन घण्टा लामो प्रस्तुतिबीच दर्शकलाई कहिले प्रेमिल भावहरूमा डोर्याए त कहिले दुखेका हृदय छाम्न लगाए । ब्यान्डले घण्टौं आफ्ना मायाप्रेमका गीतहरूदेखि बिछोड र देशप्रतिको भक्तिभावमा दर्शकलाई झुमाए ।
ब्यान्डको दोस्रो प्रस्तुति थियो, ‘छुँदैन तिम्रो मायाले’ । जब ड्रम बजाउँदै एड्रियनले यो गीत गाए । दर्शकले पनि साथ दिए । ब्यान्डका संस्थापकसमेत रहेका निराकार याकथुम्बाले बेसको सुन्दर प्रस्तुति मिसाए । मनोज केसीको रिदम मिसिएपछि त, ‘छुँदैन’ भन्दै गाउनेहरूको मुटुलाई गीतले मज्जाले छोएको थियो ।
‘३० वर्ष भएछ, तपाईंहरूको मायाले यहाँ आइपुगेको छ,’ निराकर याकथुम्बाले यति भनेर ब्यान्डको अर्को चर्चित गीत ‘सम्झी बस्छु’ गाए । यो गीत ब्यान्डको दोस्रो एल्बमको गीत हो ।
‘हामी गीतका लागि मात्रै होइन, इन्स्ट्रुमेन्टलका लागि पनि चिनिन्छौं । अहिले हामी त्यही इन्स्ट्रुमेन्टल बजाउँदै छौं, मैले गाउने शब्द दोहोर्याउनुस्,’ मनोज सिंहले सम्झी बस्छुको प्रस्तुति सक्नेबित्तिकै दर्शकलाई ओम शान्ति दोहोर्याउन लगाए । कन्सर्टमा गीतहरू पस्किरहँदा ब्यान्डले बेलाबेला इन्स्ट्रुमेन्टल प्रस्तुति दिइहाल्थ्यो । ‘क्रसिङ्स’ शीर्षकमाथिको इन्स्ट्रुमेन्टल, मनोजको बाँसुरी र सञ्जय श्रेष्ठले बजाएको पर्कसनको सुन्दर संयोजनले बेजोड सुनिएको थियो ।
कन्सर्टमा ब्यान्डका अधिकांश सदस्यले एउटा न एउटा गीत त गाएकै थिए । भोकलिस्टद्वय एड्रियन र फिरोज स्याङ्देनले नगाउने त कुरै भएन । एड्रियन ‘धेरै भयो’बोलको गीत गाइरहँदा ब्यान्डले उनलाई साथ दिइरह्यो । खासमा यो गीत एड्रियनले दार्जलिङ–कालिङपोङमा भएरहेको द्वन्द्वलाई सम्झेर उतिबेला गाएका थिए । यो गीतलगत्तै एड्रियनले ‘मुटु भरिभरि’माथि प्रस्तुति दिए । खासमा यो गीत उतिबेला फ्यान, ब्यान्ड सदस्य र परिवार लक्षित गर्दै लेखिएको रहेछ ।
फिरोजले ‘च्याङ्बा एन्ड दि रिभोलुसन’ गाए । त्यसपछि पर्कसनिस्ट सञ्जय श्रेष्ठले ‘स्वर्गादपि गरियसि’ गाए । करिब १ घण्टाको प्रस्तुतिपछि ब्यान्डलाई प्रमुख मञ्चबाट बीचतिरको मञ्चमा लगियो । बीचको यही मञ्चमा ब्यान्डले अकस्टिक प्रस्तुति दियो । ब्यान्डले जब ‘बाँधेर राख तिम्रै...’ भन्दै ब्यान्डको अर्को चर्चित गीतको अन्तरा गुनगुनायो । तब दर्शक चर्को स्वरमा चिच्याए, 'परेलीमा लुकाई राखन' ।
‘सम्बोधन’ बोलको गीत गाउनुअघि त एड्रियनले आफूले उक्त गीत शिक्षकलाई लक्षित गर्दै लेखे तापनि पछि राजपरिवारसँग जोडिन पुगेको प्रसंग सुनाए । ‘जति माया लाए पनि’बोलको गीतपछि ब्यान्डको पहिलो एल्बमको एउटै चर्चित गीत ‘मायलुले’माथि प्रस्तुति भयो ।
ब्यान्डले ‘चौबन्दी’, ‘गराँसै फुल्यो’जस्ता गीतहरूलाई अन्तिम यात्राको अन्तिमतिर प्रस्तुत गरेको थियो । ‘नेपाली हो’ त अन्तिममै गाइएको थियो । यो गीत गाउनुअघि गीतका सर्जक मपन भुसाललाई मञ्चमा बोलाइएको थियो । मपनलाई ब्यान्ड सदस्य सबैले अंकमाल गरे, मपनले भने गीत गाउनुअघि एड्रियनलाई ढाका टोपी पहिर्याइदिए । त्यसपछि ब्यान्डले गायो -जसो गर जे भन, जतासुकै लैजाउ मलाई , यो मन त मेरो नेपाली हो ।‘ ब्यान्डको यो प्रस्तुतिमा दर्शक पनि उत्तिकै उत्साहित हुँदै गाए ।
‘यो हाम्रो अन्तिम प्रस्तुति थियो । अब हामी जाउँ कि अर्को गीत गाउँ ?’ भन्दै अन्तिम पटक सञ्जयले दर्शकलाई सोधे । दर्शकले केही भन्न नपाउँदै ब्यान्डले अर्को प्रस्तुति दियो– 'रातो र चन्द्र सूर्य' ।
