काठमाडौँ — अभिनेता हरिवंश आचार्य 'भूठान'को विष्णु चरित्रले निकै चर्चामा छन् । यो फिल्ममा गरेको भूमिकामा हरिवंश फरक अवतारमा देखिएको भन्दै चर्चा चुलिन थालेको छ ।
आचार्यलाई पनि धेरैले यही प्रतिक्रिया दिँदै आएका छन् । खासमा हरिवंशले खेलेको यो भूमिकामा सुरुमा बलिउड अभिनेता नसिरुद्दिन शाहदेखि अनुपम खेयरसम्मलाई अफर गरिएको थियो । बलिउडका दुई हस्ती व्यस्त भएपछि निर्देशक बिनोद पौडेलले आफ्नै देशमा कलाकार खोजे । उनको नजरमा यो भूमिकाका लागि एउटै मात्र कलाकार उपयुक्त थियो, उनै आचार्य । निर्देशक पौडेलले स्वस्तिमा मार्फत फिल्मको स्क्रिप्ट हरिवंशकहाँ पुर्याए । तीनपटक स्क्रिप्ट पढिसकेपछि आचार्य उक्त भूमिकाका लागि तयार भएका हुन् ।
हरिवंशले पहिलोपटक वर्कसपको अनुभव पनि यही फिल्मबाट बटूलेका थिए । वर्कशपको क्रममा उनी एकपटक रिसाएका पनि रहेछन् । खासमा अमेरिकामा फिल्मको वर्कसप चलिरहँदा आचार्यलाई भेट्न अमेरिकाकै अर्को शहरबाट ३ घण्टाको ड्राइभ गरेर एक व्यक्ति त्यहाँ आइपुगेका थिए । ती व्यक्तिले फोन गर्नासाथ आचार्य जुरुक्क उठेर उनलाई भेट्न गएछन् । फर्केर आउँदा पो थाहा भयो, वर्कशप सम्हालिरहेका टिम रिसाइसकेको थियो । त्यतिबेला आचार्यलाई लागेको थियो,'एकछिन कोही भेट्न पनि नपाउनु ? वर्कशप नै छाडेर नेपाल फर्किदिउँ कि क्या हो ?'
तर, निर्देशक पौडेलले अवस्थालाई सामान्य बनाउँदै हरिवंशलाई सम्हाले । 'उहाँ कोठामा रिसाएर बस्नु भएको थियो । सायद उहाँको चित्त पनि दुख्यो होला टिमको व्यवहारले । त्यसैले मैले अवस्थालाई मत्थर बनाउँदै उहाँसँग माफी मागें । उहाँको आँखा पनि रसाइरहेको थियो । अनि हामीले अंकमाल गर्यौं,'निर्देशक पौडेलले हालै कान्तिपुरलाई भने । बुलबुल निर्देशक पौडेलद्वारा निर्देशित 'भूठान' वैशाख १२ देखि प्रदर्शनमा आउँदैछ ।
