काठमाडौँ — बलिउड सुपरस्टार ऋतिक रोशनको आगामी फिल्म ‘कृष ४’ अहिले चर्चाको केन्द्रमा छ ।
ऋतिक ‘वार २’को काम अझै पूरा भइसकेको छैन । अहिले उनी ब्रेकमा छन् । यो फिल्मको काम सकिएपछि ‘कृषल ४’को प्रि–प्रोडक्सनको काम अगाडि बढ्नेछ । फिल्मको निर्देशन ऋतिक स्वयम्ले गर्दैछन् ।
हालैका रिपोर्टअनुसार ‘कृष ४’ मा नोरा फतेही र प्रिती जिन्टा मुख्य भूमिकामा देखिने सम्भावना छ । नोरा फतेहीलाई फिल्मको कथा निकै मन परेकाले उनी उत्साहित भएको बताइएको छ ।
उनी ‘कोई मिल गया’मा ऋतिक रोशनको अपोजिट देखिएकी थिइन् । उनको अभिनय दर्शकहरूले मन पराएका थिए ।
‘कृष ४’ ले ‘कोई मिल गया’ को कथा पुनः जीवित गर्ने सम्भावना छ । २२ वर्षपछि ‘जादू’को कमब्याक हुने हल्ला चलेको छ । निर्माता राकेश रोशनले केही समयअघि एक कार्यक्रममा दिग्गज अभिनेत्री रेखाको फिल्ममा पुनः आगमन हुन सक्ने संकेत दिएका थिए ।
प्रिति जिन्टा लामो समयदेखि फिल्मी दुनियाँबाट टाढा छिन् । उनी छिट्टै ‘लाहौर १९४७’ मार्फत् बलिउडमा कमब्याक गर्दैछिन् ।
