भर्सटाइलको ट्याग दर्शकले दिनुभयो : अभिनेता कार्की

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

Versatile tagged by viewers: Actor Karki

काठमाडौँ — अभिनेता विपिन कार्की नयाँ फिल्ममार्फत फेरि दर्शकबीच आउँदैछन् । अगत्स्य निर्देशक सौरभ चौधरीद्वारा निर्देशित 'कर्मा'मा विपिन फरक अवतारमा देखिएका छन् । 

यसअघि विपिनका यथार्थवादी चरित्रमा धेरै रुचाइए । भष्मे डनदेखि फणिन्द्रजस्ता चरित्र त विपिनलाई चिनाउने चरित्रहरु नै हुन् । 'नाका', 'गोपी', ‘प्रसाद’, 'सेल्फी किङ'का चरित्रलाई पनि दर्शकले उतिकै रुचाइदिएका छन् । तर, विपिन 'कर्मा'मा आफूले निकै भिन्न चरित्रमा अभिनय गरेको दाबी गर्छन् ।

उनका अनुसार विपिनले पहिलो पटक यथार्थवादीभन्दा फरक फिल्मी शैलीको चरित्र गरेका छन् । 'यसअघि मैले लार्जर द्यान लाइफ वाला चरित्रमा खासै अभिनय गरेको थिएनँ । त्यसैले कर्मा मेरो लागि निकै फरक अनुभव भयो । अरु फिल्ममा भन्दा यसमा अर्कै चरित्र छ, पहिल्यैदेखि जुन किसिमको फिल्मी एक्टिङ हामीले हेर्दै आयौं त्यस्तो अभिनय यसमा गरेको छु,'कान्तिपुरसँग विपिनले भने,'हरेक फिल्ममा मैले उतिकै मिहेनत गरेको हुन्छु । कर्माको यो चरित्रका लागि मैले मेहनत गरेको छु । आशावादी छु फिल्मबाट ।' 

कर्मा चैत २९ देखि प्रदर्शनमा आउँदैछ । फिल्ममा विपिनसँगै अभिनेता दिव्य देव, उपासना ठकुरी, मुकुन भुसाल, निर्मल शर्मालगायतको अभिनय देख्न सकिनेछ । 'पहाड'मा पनि आबद्ध विपिनको हालै 'ऊनको स्वीटर'को नयाँ अवतार पनि बजारमा आयो । धेरैले विपिनको यो नयाँ अवतारलाई पनि रुचाइदिएका छन् । विपिन नेपाली कलाकारहरुमा भर्सटाइल अभिनेताका रुपमा परिचित छन् । 'भर्सटाइल भन्ने ट्याग दर्शकले मायाले दिनु भएको हो,'विपिनले भने ।

कान्तिपुर

Link copied successfully