काठमाडौँ — 'अनुकल्पित प्रभानम' शीर्षकमा नमुना कलेज अफ फेसन टेक्नोलोजीको १९औं ग्र्याजुएसन फेसन सो सम्पन्न भएको छ । ललितपुरको झम्सीखेल स्थित 'द प्लाजा नेपाल'मा आयोजित सोमा मौलिक परम्परा र आधुनिकताको संयोजनसहितका पहिरन प्रस्तुत गरिएको थियो ।
८८ जना स्नातक विद्यार्थीहरूका विभिन्न डिजाइनमाथि ९ प्रस्तुति थियो । नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरको रनवे उपस्थितिसँगै प्रारम्भ भएको सोमा ३६ जना मोडल उपस्थित थिए । कार्यक्रमको कोरियोग्राफी र निर्देशन रोजिन शाक्यले सम्हालेका हुन् ।
सोमा सीटीईभीटीका पूर्वउपाध्यक्ष कुलबहादुर बस्नेत, पद्मकन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रोफेसर जया प्रधान अध्यापकद्वय राजेन्द्र सिंह र कुश्मा श्रेष्ठ, फेसन डिजाइनरद्वय राजेश धाख्वा र अनु श्रेष्ठ, एनसीएफटी आल्मुनाईका कार्यवाहक अध्यक्ष लीना महर्जन, मिस विभा २०२४ प्रेमा लामगादे तथा मिस नेवाः नेपाल ११४५ प्रलिशा शाक्य निर्णायक थिए ।
