प्रकाश र स्वस्तिमा 'हेर्दै आँखामा'

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Prakash and Swastima 'Looking in the Eye'

काठमाडौँ — 'वसन्त'को निर्माण टिमले फिल्मको प्रचार थालेको छ । गायक प्रकाश सपुतको डेब्यू निर्देशनमा तयार भएको फिल्मको हालै 'हेर्दै आँखामा'बोलको गीत सार्वजनिक गर्दै प्रचार थालेको हो । 

गीतमा फरक धर्म र संस्कृति समेट्दै दुई प्रेमिल जोडीको प्रेम देखाइएको छ । गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीतको भिडियोमा निर्देशक सपुत र स्वस्तिमा खड्का देखिएका छन् । उनी दुई फरक संस्कृति र धर्मलाई आत्मसात् गर्दै प्रेम गरिरहेको दृश्य भिडियोमा समेटिएका छन् । 

चैत्र २२ बाट प्रदर्शनमा आउने यो फिल्ममा सपुत र खड्कासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ । 

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा तयार फिल्ममा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न गरिएको संघर्षको कथा छ ।

फिल्मको छायांकन बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा गरिएको हो । सिनेमेटोग्राफर सुसन प्रजापतिले खिचेकको फिल्मलाई काठमाडौंमा डीसीएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् । 

कान्तिपुर

Link copied successfully