काठमाडौँ — सामाजिक सञ्जालमा चलेको लामो विवादपछि चर्चित कोरियन अभिनेता किम सो योनले आफूमाथि लागेको आरोपहरू झूटो रहेको भन्दै सोमबार पत्रकार सम्मलेन गर्दै जनाएका छन् । अभिनेत्री किम से रोनलाई नाबालिग हुँदै प्रेम सम्बन्ध राखेको विषयमाथि किम सो तानिएका थिए ।
अभिनेत्री रोनले फागुन ४ मा आत्महत्या गरेसँगै उनको निधनपछाडि थुप्रैले अभिनेता किम सो योनसँगको ब्रेकअप पनि कारण रहेको भन्दै आरोप लगाउन थालेसँगै यो विवाद चुलिएको थियो । पत्रकार सम्मेलनमा भक्कानिँदै अभिनेता किम सो योनले अभिनेत्री बालिग भइसकेपछि सम्बन्ध राखेको खुलाएका छन् । अभिनेत्री रोन 'अ ब्रान्ड न्यू लाइफ', 'द म्यान फ्रम नोह्वेर'जस्ता फिल्महरुबाट चर्चामा आएकी हुन् ।
अभिनेता किम सो योनकै जन्मदिनका दिन अभिनेत्री रोनले आत्महत्या गरेको द हलिउड रिपोर्टरको समाचारमा उल्लेख गरिएको छ । उनी दुईबीच प्रेम सम्बन्धको खबर एक वर्षअघि चर्चामा आएको थियो जब इन्स्टाग्राममा दुईको तस्बिर सार्वजनिक भएको थियो । तर, अभिनेता आबद्ध एजेन्सी 'गोल्ड मेडलिस्ट'ले दुईबीच सम्बन्ध नभएको जानकारी गराएका थिए । तर, अभिनेत्रीको आत्महत्यासँगै रोनको परिवारले अभिनेता योनले उनी नाबालिग हुँदै प्रेम सम्बन्ध राखेको बयान सार्वजनिक गर्यो ।
तर, 'द कोरिया टाइम्स'का अनुसार परिवारले आफूलाई झुटो आरोप लगाएको भन्दै अभिनेताले पत्रकार सम्मेलन आयोजना गरेको हो । 'मैले जे गरें त्यसको जिम्मेवारी म लिन्छु, र आलोचना पनि सहन्छु,'अभिनेता योनले भने,'तर, मैले जे गर्दै गरिनँ त्यसको जिम्मा म लिन्नँ । म पूर्वप्रेमी रहेकै आधारमा रोनको परिवारले उनको आत्महत्यामा मलाई त्यस्सै तानेका हुन् । उनीहरु मैले जे गरिनँ, त्यसैमा मलाई उभ्याउन चाहन्छन् ।'
योन साउथ कोरियाको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामा पर्छन् । चर्चित सिरिज 'माइ लभ फ्रम द स्टार'बाट विश्वमा चिनिएका उनका 'इट्स ओके नट टू बी ओके', 'द मून इम्ब्रेसिङ द सन', 'ड्रिम हाइ'लगायतका सिरिज चर्चित छन् । नाबालिगसँगको प्रेम सम्बन्धले उनको हातबाट 'प्राडा'जस्ता चर्चित ब्रान्ड् अनि डिज्नीको चर्चित सो 'नक अफ' छुट्ने छाँटकाँट देखिसकेको छ ।
