काठमाडौँ — भारतीय कमेडियन कपिल शर्मा फेरि ठूलो पर्दामा फर्कन लागेका छन् ।उनको सुपरहिट फिल्म ‘किस किसको प्यार करूँ’को सिक्वेल ‘किस किसको प्यार करूँ २’ आउँदैछ। फिल्मको पहिलो लुक सार्वजनिक भइसकेको छ ।
कपिलको कमब्याकसँगै धेरैमा एउटा प्रश्न उठेको छ, ‘के उनी आफ्नो फ्लप फिल्मी करियरलाई ट्र्याकमा ल्याउन सक्लान् ?’
सन् २०१७ मा कपिलले फिल्म ‘फिरंगी’ ल्याए । तर फिल्मले व्यावसायिक सफलता हासिल गर्न सकेन । करिब २५-३० करोडको बजेटमा बनेको फिल्मले मात्र १० करोडको मात्र व्यापार गर्यो ।
यो असफलताले कपिलको व्यक्तिगत र व्यावसायिक जीवनमा ठूलो असर पार्यो। उनी मनोरञ्जन उद्योगबाट टाढा भए । उनको चर्चित टिभी शो ‘द कपिल शर्मा शो’ समेत केही समयका लागि बन्द गर्नुपर्यो ।
एक अन्तर्वार्तामा जब कपिललाई ‘फिरंगी’मा धेरै पैसा किन लगानी गर्नुभयो भनेर सोधियो । उनले भने, ‘थोरै गल्ती भयो ।’
उनले दिलबाट बनाएको फिल्म भएकाले प्रक्रियाचाहिँ निकै रमाइलो लागेको बताए । ‘मान्छे गल्ती गर्दै सिक्छ । फिल्म त म अझै बनाइरहन्छु,’ उनले भनेका थिए ।
‘फिरंगी’पछि कपिलले ‘फ्यामिली टाइम विथ कपिल शर्मा’ ल्याए । तर शो असफल भयो । २०२२ मा नेटफ्लिक्समा आएको उनको स्ट्यान्डअप स्पेसल ‘आई एम नट डन येट’ ले राम्रो प्रतिक्रिया पायो ।
त्यसपछि द ग्रेट इन्डियन कपिल शो सुरु भयो । जुन हिट भयो। रणबीर कपुर, अक्षय कुमार, दिलजीत दोसाँझ, आमिर खानजस्ता ठूला स्टारहरू शोमा आए ।
अब कपिल फेरि फिल्ममा फर्कँदैछन् । ‘किस किसको प्यार करूँ २’ को निर्देशन अनुकल्प गोस्वामीले गरेका छन् भने रतन जैन, गणेश जैन र अब्बास-मस्तानले निर्माण गरेका छन् ।
फिल्ममा कपिलसँगै मनजोत सिंह पनि देखिनेछन् । फिल्म कमेडी विषयमा आधारित हुनेछ ।
