काठमाडौँ — मनोज बाजपेयी अभिनीत चर्चित वेब सिरिज ‘द फेमिली म्यान’को तेस्रो सिजन दर्शकहरूका लागि बहुप्रतिक्षित छ ।
अमेजन प्राइमले यसअघि नै सिरिज यो वर्ष रिलिज हुने घोषणा गरिसकेको थियो । मनोज बाजपेयीले बलिउड सञ्चारमाध्यमसँग कुरा गर्दै यसको रिलिज मिति पुष्टि गरेका छन् । उनका अनुसार तेस्रो सिजन यस वर्ष नोभेम्बरमा रिलिज हुनेछ । साथै, उनले सिरिजमा नयाँ कलाकारको रुपमा जयदीप अहलावतको इन्ट्री भएको पनि खुलासा गरे ।
उनले भने, ‘हामीले दुई वर्षअघि नै जयदीप अहलावतलाई कास्ट गरिसकेका थियौं । उनले पाताल लोक सिजन २ मा उत्कृष्ट काम गरेका छन् । उनी यो सिजनमा हुनुभएकोमा हामी खुसी छौँ ।’
‘द फेमिली म्यान’ एक एक्सन-थ्रिलर वेब सिरिज हो । जसलाई सुमन कुमार, राज निदिमोरु र कृष्णा डीकेले लेखेका हुन् । यो सिरिज पहिलोपटक सन् २०१९ मा अमेजन प्राइममा रिलिज भएको थियो । दर्शकहरूले यसलाई अत्यधिक मन पराएका थिए । सन् २०२१ मा रिलिज भएको दोस्रो सिजनमा सामन्था रुथ प्रभुले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
हालै, सिरिजका निर्माताहरू राज र डीकेले आफ्नो इन्स्टाग्राममा सिजनको सुटिङ सकिएको जानकारी दिएका थिए ।
