काठमाडौँ — यस पटक नेपालयको साँगीतिक कार्यक्रम पँलेटीमा गीतकार कालीप्रसाद रिजाल र संगीतकार आभास गुञ्जने भएका छन् ।
यही चैत २८ र २९ मा नेपालयको आरसालामा हुने कार्यक्रममा कालीप्रसाद रिजालका नयाँ गीतमा आभासले धुन र स्वर दिँदै प्रस्तुत हुनेछन् । गीतकार रिजालले फेरि नेपालयसँग जोडिन पाउँदा खुसी व्यक्त गरे ।
‘पहिले पनि मेरो आत्मसंस्मरण काँडामा हाँसेको जिन्दगी लोकार्पणका बेला नेपालयसँग जोडिएको थिएँ । यस पटकको सहकार्य म आफैँलाई विशेष लागिरहेको छ,’ उनले भने ।
वि.सं १९९६ मा धनकुटामा जन्मेका रिजाल २०१३ सालमा काठमाडौँ आए ।
गीतकार रिजालका ‘केही मीठो बात गर’, ‘आँखा छोपी नरोऊ भनी’, ‘झरेको पातझैँ’, ‘झर्यो जिन्दगी’, ‘यसै गरी बिताइदिन्छु,’ ‘माया गर्नेको चोखो माया’ जस्ता गीत नारायणगोपालले गाएका छन् । यसपालिको पलेँटीमा यिनै कोसेलीहरू प्रस्तुत हुनेछन् ।
यसै गरी अम्बर गुरुङले संगीत गरेका दुई गीत ‘कहीँ आफ्नै भुमरीमा’ पनि प्रस्तुत हुनेछन् ।
२० वर्षदेखि पलेँटी संयोजन गर्दै आएका आभास यसपालि संगीतकार र गायकका रूपमा पलेँटीमा प्रस्तुत हुँदै छन् । रिजालका आठ नयाँ गीतमा उनले धुन भरेका छन्
पलेँटीकै क्रममा रिजालका नयाँ र पुराना गीत र कविताको संग्रह ‘केही मीठो बात गर’ पुस्तक पनि लोकार्पण हुनेछ । पुस्तकमा रिजालमा नयाँ र पुराना २० कविता सङ्गृहीत छन् । यसै गरी उनका नयाँ र पुराना ६८ गीत पुस्तकमा समेटिएका छन् ।
रिजालका पुराना लोकप्रिय गीतहरू अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीले गाउनेछन् । सम्पूर्ण पलेँटीमा सुनील सिंह, सुन्दरकुमार महर्जन, मिलन घिमिरे, कृपेश लोहनी, लक्ष्मीप्रसाद डंगोलले वाद्यवादनमा साथ दिनेछन् ।
