भारतमा बनेको पहिलो थ्रिडी फिल्म

चैत्र १३, २०८१

कान्तिपुर संवाददाता

First 3D film made in India

काठमाडौँ — छिमेकी देश भारतमा निर्माताहरू पछिल्लो समय कथासँगै भिजुअल इफेक्ट्समा पनि ठूलो रकम खर्च गरिरहेका छन् ।

फिल्म ‘ब्रह्मास्त्र’ र ‘तान्हाजी’ लगायतका केही फिल्महरू पछिल्लो समय थ्रिडी फर्म्याटमा बनेका फिल्म हुन् । नेपालमा पनि थ्रिडी प्रविधिमा ‘भिजिलान्ते’ बनेको थियो ।

हलिउडमा त यसको प्रयोग प्रशस्तै हुने गर्छ । 

भारतमा भने पहिलो थ्रिडी फिल्म कुन थियो त ? ४१ वर्षअगाडि नै भारतमा थ्रिडी फिल्म निर्माण भइसकेको थियो । १९८४मा रिलिज भएको मलयालम फिल्म ‘माई डियर कुट्टीचथन’ थियो । फिल्मको निर्देशन जिजो पुन्नूसले गरेका थिए । निर्माण भने जिजोका बा नवोदय अप्पचनले गरेका थिए ।

फिल्मको कथा एउटा अदृश्य भूत (कुट्टीचथन) को वरिपरि घुम्छ । फिल्ममा दुष्ट जादुगर र भूतको सम्बन्धको कथा छ ।

फिल्ममा एम.पी. रामनाथ, श्रीधरन नायर, सोनिया, मास्टर सुरेश, मास्टर अरविन्द, दलीप ताहिल लगायतका कलाकारको भूमिका छ । त्यतिबेला यो फिल्मले २.५ करोड भारु कारोबार गरेको थियो । यो कारोबार तत्कालीन समयको सफल व्यापार थियो ।

फिल्मलाई १९९८मा हिन्दी भाषामा ‘छोटा चेतन’को नाममा डब गरिएको थियो । यो फिल्मलाई पनि जिजो पुन्नूस ले नै निर्देशन गरेका थिए । फिल्मको हिन्दी संस्करणले त्यतिबेला १० करोड कमाइ गरेको थियो ।

फिल्ममा उर्मिला मातोंडकरको ‘मिस हवा हवाई’ गीत निकै लोकप्रिय बन्यो । यो फिल्म भारतीय सिनेमाको  उत्कृष्ट थ्रिडी फिल्ममध्ये गनिन्छ । 

कान्तिपुर

Link copied successfully