'किन हुन सक्दैन एक गाउँ, एक थिएटर ?’

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

'Why can't there be one village, one theater?'

काठमाडौँ — रंगकर्मी र सरोकारवालाले कलालाई अझै पनि राज्यले शसक्त ढंगले समेट्न नसकेको गुनासो गरेका छन् । ‘सामाजिक रुपान्तरणका लागि रैथाने ज्ञान’ नारासहित जारी नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०२५ (निटफेस्ट) को सत्र ‘गाउँगाउँमा सिंहदरबार, ठाउँठाउँमा थिएटर’ का वक्ताले राज्यको नजरमा कला क्षेत्र बेवास्तामा परेको बताए ।

चुलाचुली रंगमञ्चका चेतन आङथुम्पोले काठमाडौंमा कलाका कार्य भइरहे पनि पूर्वका स्थानीय सरकारले अझै पनि कलालाई समेट्न नसकेको भनाइ राखे । ‘हामीकहाँ ९ वटा वडा थिए, संघीय संरचना आइसकेपछि पहिलोपटक हामीलाई उत्साहित गर्ने काम गर्नुभएको थियो,’ उनले भने, 'तर सिंहदरबार काठमाडौंमै मात्रै रह्यो । हामीकहाँ त्यसको महसुस छैन । उहाँहरुले ल्याउने वार्षिक नीतिमा कला समेटेको छैन ।'

पूर्वका निकायले हरेक स्थानीय तहमा बजेट बनाए पनि कला समावेश नभएको उनको भनाइ थियो । 'एक गाउँ एक शौचालय हुन्छ भने एक गाउँ एउटा थिएटर किन हुन सक्दैन ?’ उनले प्रश्न गरे । 

बुढानीलकण्ठ नगरपालिकाकाकी उपप्रमुख अनिता लामाले भने आफूहरु कलालाई लिएर सचेत रहेको बताइन् । ‘थिएटर हलमा के गर्छौं ? ग्यालरीमा के गर्छौं ? भन्ने सचेत समूह हाम्रो छ । कला भनेको मानिसको भावनामार्फत आउने खुसी, समृद्धि र सन्तुष्टि हुन् । यो भावनालाई जागृत गराउने त कलाले नै हो,' उनले भनिन्, 'बुढानीलकण्ठमा हामीले साहित्य महोत्सवमा कलाका फरक आयामलाई जोडेका छौं । महोत्सव गरिरहँदा आफ्नो स्थानको कला, साहित्यको जगेर्नासँग स्थानीय कलाकारलाई प्लेटफर्म दिनुपर्छ भन्ने कुरामा सचेत छौं ।‘ रंगमञ्च नभए पनि ‘एनपी थिएटर’मा कलाका विधालाई जोड्ने योजनासहित यसको निर्माण गरिरहेको उनले बताइन् ।

बालबालिकाले गरेको नाटकलाई समेत कुञ्च थिएटरमा देखाएको उनले स्मरण गरिन् । ७ दिनको कार्यशाला गर्दा कलाका पारखीहरुको उल्लेख्य सहभागिता रहेको भन्दै उनले थपिन्, 'यसरी हामी कलाको अभ्यास गरिरहेका छौं ।'

दिक्तेल रुपाकोद मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले कला र संगीतलाई सँगसँगै लैजाँदा मात्रै समाज पूर्ण हुने हुँदा आफूहरु यसको विकासमा लागिरहेको दाबी गरे । ‘हामीले कला साहित्य र रंगमञ्चलाई जोड्ने कोसिस गरेका छौं । हालै विश्वका कलाकारलाई निम्तो दिएर कलाको कार्यक्रम गर्‍यौं । ५३ देशका २ सय १३ चित्र ती कलाकारले निर्माण गर्नुभयो,' उनले भने । आफूहरुले नगरपालिकामा हालै ‘बाँस सम्मेलन’ गरेको सुनाउँदै उनले चित्रकलासँग रुचि राख्ने बालबालिकालाई रेड पाण्डाको संरक्षणमा कसरी भूमिका खेल्न सकिन्छ भनेर कार्यक्रम आयोजना गरेको बताए । ‘हामी बाँसै बाँसको संग्रहालय पनि निर्माण गर्दै छौं । हामी दिक्तेललाई बाँसको राजधानी बनाउँदै छौं,’ उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully