३७ का विजय, ६७ का हरिवंश

चैत्र १२, २०८१

समर्पण श्री

Vijaya of 37, Harivamsa of 67

काठमाडौँ — जीवन शर्माको एउटा गीत छ– ‘सिमली छायाँमा बसीभरिया लामो सास फेरेको ।’

तर यतिबेला थापागाउँस्थित मण्डला थिएटरको आँगनमा झाँगिएको भोगटेको छायाँमा बसेर दुई अभिनेता गफिएका छन्– हरिवंश आचार्य विजय बराल ।

नेपाल अन्तर्राष्ट्रिय थिएटर फेस्टिभलको अन्तिम दिन । दुवैले बोकिरहेको जिम्मेवारीको भारी केहीबेर बिसाउँदै फेरिरहेका छन्, सन्तुष्टिको सास । र, सुनाइरहेका छन्– अभिनय यात्राका कथा । यी दुई पुस्ताका जबर्जस्त कलाकार सुरुमै ठट्यौली सुनिएका थिए । विजय आफ्नो उमेरसँग हरिवंशको उमेर तौलँदै थिए, ‘म ३७ तपाईं ६७ ।’

उमेरको उकालो चढिरहेका हरिवंशलाई यो समयमा पनि ‘३७’ वर्षको झैं इनर्जी कसरी आउँछ ? विजयको प्रश्नको आशय थियो । ‘म जहिल्यै पनि ६७ वर्षको भएर हिँड्दिनँ । ३७को भएर हिँड्छु,’ उनी थप्दै थिए, ‘पुराना गाडीलाई नयाँ बनाएजस्तो कपालमा कालो मेहेन्दी लगाउँछु । शारीरिक, मानसिक र आध्यात्मिक हिसाबले स्वस्थ राख्छु ।’

रंगमञ्चको जगबाट विजय अहिले फिल्म क्षेत्रमा चुलिएका पनि छन् । फिल्म ‘पूर्ण बहादुरको सारंगी’बाट थप लोकप्रिय बनेका उनी रंगमञ्चको आँगन भुल्दैनन् । आफू र आफूजस्तै साथीहरू मिलेर खडा गरेको नाटकघरको आँगनमा उभिएर उनी हरिवंशलाई पहिलोपटक भेटेको कुरा सम्झाउन खोजिरहेका थिए । हरिवंशलाई त्यो क्षण सम्झनामा छैन । बरु ‘पूर्णबहादुरको सारंगी’ हेरेर फर्कँदै गर्दाको रोचक कुरा भने उनी उप्काउँछन् ।

‘सुरुमा मलाई फिल्म हेर्न फोन आएको थियो । काम भएकाले हेर्न भ्याइनँ । केही दिन फिल्ममा मान्छे थिएनन् रे । पछि यति चल्यो कि मैले हेर्न खोज्दा टिकट पाइनँ । पछि फोन गरेर फिल्मको अभिनेत्रीलाई टिकट मिलाउन सोर्स लगाएँ,’ उनले भने ।

हरिवंशले फिल्म हेरेपछिको अनुभूति पनि साटे । सुनाए, ‘तपाईंले मुटु बटार्नुभयो । रुन्न भनेर गएको थिएँ । आँखाबाट आँसु निस्कियो ।’

०००

हरिवंशलाई अभिनय कर्मका सुरुवाती दिनका स्मृतिमा विजयले डोहोर्‍याउन खोजे । उनले झन्डै पाँच दशकअघिका दिन सम्झिए । जतिबेला अभिनेता मदनकृष्ण श्रेष्ठ र उनी गुल्मीमा नाटक गर्न पुगेका थिए । बाटो यति सानो थियो, हरिवंशकै भनाइमा एउटा पाङ्ग्राले बाटो र अर्को पाङ्ग्राले भीर छुन्थ्यो ।

खोला बगरमा बनाइएको रंगमञ्चमा उनीहरू अभिनय गर्थे । गाउँमा बत्ती पुगेको थिएन । ‘पेट्रोलम्याक्स बालिन्थ्यो । दम फुस्किँदै जाँदा बल्न छाड्थ्यो । त्यसमा दम दिँदै अभिनय गर्नुपर्थ्यो,’ उनले त्यतिबेलाको सास्ती सुनाए । पारिश्रमिक ५ हजार थियो उनीहरूको । तर त्यहाँ कार्यक्रममा सहभागीको एउटा साउती पनि सुनिहाले, ‘…नुन किन्न ल्याइएको पैसा टिकटमा सकाइयो ।’

त्यसपछि त्यो पारिश्रमिक स्कुललाई बुझाएर उनीहरू फर्किए ।

रंगमञ्चमा कलाकारका ‘बदमासी’ पनि हुन्छन् । जुन विजयहरू आफ्नो समयमा गर्थे । ‘मलाई याद आयो । हामी एउटाको रोल हुँदा अर्को स्टेजमा छिर्थ्यौँ ।  दर्शकहरूले अगाडिको स्टेजमा रमाइलो लिन्थे । हामीले स्टेजको पछिल्लो भागमा । दाइहरूले त्यसो गर्नुभयो कि भएन ?’

हरिवंशले हाँस्दै भने, ‘हामी तपाईंजस्तो बदमास थिएनम् । तर एउटाको डाइलग बोल्न अर्कोचाहिँ पुग्थ्यौँ।’

०००

उतिबेला फिल्म कसरी खेले हरिवंशले ? गोरखापात्रमा ‘कलाचार चाहियो’ भनेर छापिएको विज्ञापनको आधारमा निवेदन दिए । परीक्षण भयो । उनलाई ‘मनको बाघ’ फिल्ममा सहचालक भूमिकाका लागि छनोट गरियो । तर उमेर १८ भन्दा मुनि थियो उनको । ‘पछि त बाल श्रमिक देखाउन पाइन्न भनेर खेलाइएन । सानो एउटा रोल दिइयो,’ हरिवंश भन्छन् ।

त्यसपछि फिल्म ‘सिन्दुर’मा हरिवंशले बाटोमा सुगा लिएर हात हेर्ने ज्योतिषीको भूमिका गरे । ‘जीवन रेखा’मा एउटा सिन पाए । ‘के घर के डेरा’ वासुदेव’ हुँदै ‘बलिदान’सम्म पुग्दा उनको हास्य कलाकार छवि मात्र होइन, एउटा बलियो चरित्र निर्वाह गर्न सक्ने अभिनेताका रुपमा पनि बनेको थियो ।

थिएटरमा पहिला ‘पैसा’ थिएन । अहिले तुलनात्मक रुपमा वातावरण केही सहज छ । संघर्षका दिन ५ सयबाट ५ हजार हुँदै १ लाखसम्म समात्ने अवस्था उनीहरूले स्टेजबाटै बनाए । त्यतिबेला गायक नारायण गोपालले सोधेका थिए हरिवंशलाई, ‘ए हरि, तिमीहरू पैसा नलिई कार्यक्रम गर्दैनौ रे हैन ?’  उनले ‘हजुर हो’ भने । त्यसपछि नारायण गोपालले थपे, ‘म पनि नलिई गर्दिनँ ।’

पहिलेभन्दा अहिले माहोल सहज भए पनि प्रतिस्पर्धा बढी भएको सुनाउँछन् विजय ।’ हरिवंश भन्छन्, ‘तर गर्दै गयो भने एकदिन भाग्य पनि झुक्छ ।’

०००

सफल हुन जति गाह्रो छ, त्योभन्दा बढ्ता गाह्रो त्यसलाई टिकाउन । सायद विजयलाई पनि त्यसको डर छ अहिले । उनी कुनै फिल्म 'साइन' गर्नुअघि अहिले थुप्रैपटक सोच्छन् । ‘पूर्णबहादुरको सारंगी’ पछि आफ्नो शाख जोगाइरहनुपर्ने छ उनलाई ।

उनले हरिवंशलाई त्यसको सूत्र सोधे । त्यही प्रश्न कार्यक्रमको उतरार्द्धतिर एक सहभागीले पनि गरे । पछिल्लो समय सामाजिक सञ्जालमा आइरहेका गाली, अनर्गल प्रचारले भोगिरहनुपरेको मानसिक यातनाले हरिवंश केही चिन्तित छन् । उनले त्यो आरोपलाई प्रस्ट्याए  । अनि आफूमा बिझेका कुरालाई महसुस गर्दै भने, ‘हामी पनि मान्छे हौं । रसाउँछौं । आँसु आउँछ । चित्त दुख्छ ।’

उनले सफलता टिकाइराख्ने कुरामा भने कामको निरन्तरता र इमानदारितालाई नै इंगित गरे । 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully