काठमाडौँ — फिल्म प्रदर्शनका प्रक्रिया नबुझ्दा प्रदर्शनमा झमेला हुने गरेको निर्देशक र निर्माताले बताएका छन् । आठौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत आयोजित 'फिल्म प्रदर्शनमा किन सधैं झमेला' शीर्षकमा भएको अन्तरक्रियामा उनीहरुले यस्तो धारणा राखेका हुन् । छलफलमा अभिनेत्री एवं निर्देशक रेखा थापा, निर्माता रवीन्द्रसिंह बानियाँ, वितरक गोपालकाजी कायस्थ र प्रदर्शक भाष्कर ढुंगानाले फिल्म प्रदर्शनमा हुने समस्यामाथि बहस गरे ।
प्रदर्शनको चरणसम्म आइपुग्दा फिल्मलाई लिएर निर्माता संवेदनशील बन्ने र हरेक परिस्थितिमा झमेला सहनुपर्दा निर्माता थाकिसक्ने निर्माता रवीन्द्रसिंहको अभुनव थियो । 'निर्माताले सबै कुरा बुझेर प्रक्रियागत रूपमा अगाडि बढ्दा समस्या आउँदैन ।आफ्नो चलचित्र कसरी बनाउने र कसरी चलाउने भन्ने निर्माताको आफ्नो कुरा हो । त्यसैले निर्मातालाई यी सबै विषय बुझेर फिल्म बनाउनुहुन अनुरोध गर्छु,' उनले भने ।
अभिनेत्री थापाले मल्टिप्लेक्स हलहरुमा सिंगल थिएटरका कलाकारका फिल्ममाथि पूर्वाग्रह साँधेर शो दिने गरेको बताइन् । 'फिल्म नहेरी प्रदर्शकले यो सिंगल थिएटरमा चल्ने, यो मल्टिप्लेक्समा चल्ने कसरी भन्न सक्नुहुन्छ ? पहिला फिल्मका लागि समान शो दिनुपर्यो नि,' रेखाले भाष्करतर्फ हेर्दै भनिन्, 'के मेरो दर्शकले सुविधासम्पन्न मल्टिप्लेक्समा फिल्म हेर्न आउँदा तपाईंको हल फोहोर पारेर गए ? दर्शकलाई फिल्म हेर्ने नहेर्ने जिम्मा दिनुपर्छ, हलवालाले यो निर्णय गर्ने होइन ।'
वितरक गोपालकाजी कायस्थले दुई जना दर्शक हुँदा 'हामीलाई शो दिएन' भन्नु गलत भएको बताए ।
सबैभन्दा ठूलो मल्टिप्लेक्स हलको च्यानल क्यूएफएक्सका प्रबन्ध निर्देशक भाष्कर ढुंगाना आफूहरुले गुणस्तरीय नेपाली फिल्मलाई शो बाँडफाटमा विभेद नगरेको दाबी गरे । 'हामीले डेटाका आधारमा कुन फिल्म चल्छ चल्दैन भन्ने निर्णयसहित शो बाँडफाँट गरिरहेका हुन्छौं । गुणस्तरीय नेपाली फिल्मलाई हामीले सधैं स्थान दिएकै छौं,' ढुंगानाले भने, 'तर, शो बाँडफाँट समान गराउन पहिला देशमा हलहरु थपिनुपर्छ । यो समस्या सीमित हल भएर पनि उत्पन्न भएको हो ।'
