पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव

नाटक मञ्चन गर्न करिब ४० विदेशी पोखरामा

चैत्र १०, २०८१

अनुप पौडेल

International Drama Festival in Pokhara

काठमाडौँ — पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले शनिबारदेखि अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरू भएको छ ।

पोखरा थिएटरको आयोजनामा चैत १३ सम्म चल्ने महोत्सवको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । कार्यक्रम उद्घाटनको जनाउ दिन उनलाई आयोजकले एउटा कागज थमाएको थियो । त्यसमा लेखिएको थियो, ‘तिम्रो भगवान् यहीँ छु ! तिम्रो आँखाको सामुन्ने ।’ चर्चित खण्डकाव्य मुना–मदनका पात्र मदनको यो संवाद अंश वाचनपछि ५ दिने कार्यक्रम उद्घाटनको घोषणा भयो ।

उद्घाटनपछि बोल्दै मेयर आचार्यले कला, साहित्य र अन्य क्षेत्रसँग सम्बन्धित एकपछि अर्को इभेन्ट हुनुले पोखरालाई सकारात्मक दिशातिर अघि बढाइरहेको जिकिर गरे । नयाँ पुस्ताले मुक्तक, नाटकजस्ता गतिविधि प्रविधिको प्रयोग गरेर संसारलाई देखाउन आवश्यक रहेको उनको भनाइ थियो ।

‘पोखरा अघिल्लो पुस्ताले स्कुल, कलेज वा विभिन्न ठाउँका थिएटरमा जे बन्छ त्यस्तै ढंगले नाटकको माध्यमबाट समाजलाई प्रतिनिधित्व गर्ने र सकारात्मक सन्देश दिने ठाउँ हो,’ उनले भने, ‘नयाँ पुस्ताले प्रविधिको प्रयोग गरेर यस्ता गतिविधिलाई संसारभर देखाउन जरूरी छ ।’

सिनेमाको पर्दामा देखिनेहरू हिँड्ने पथ रंगमञ्च नै भएकाले यसको महत्व धेरै रहेको मेयर आचार्यले बताए । चलचित्र विकास बोर्डको आयोजनामा पोखरामा चलचित्र पर्यटन महोत्सव गर्ने तयारी भइरहेको उनले जानकारी गराए ।

महोत्सवको पहिलो दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य मुना–मदनमा आधारित नाटक र भ्रुण हत्यासँग सम्बन्धित नाटक ‘इम्ब्रोइनिक’ मञ्चन गरिएको छ । साथै नेवार, थारू, गुरूङ, मगर समुदायको नृत्य पनि प्रस्तुत गरियो । महोत्सव उद्घाटनअघि गैह्रापाटनस्थित थिएटरबाट तेर्सापट्टि, महेन्द्रपुल, चिप्लेढुंगा, रामकृष्ण टोल हुँदै थिएटरसम्म झाँकी प्रदर्शनी एवं सांस्कृतिक परेड गरिएको थियो ।

International Drama Festival in Pokhara

आइतबारदेखि विदेशी नाटक मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । नाटक मञ्चनमा सहभागी हुन चीन, ट्युनिसिया, नर्वे, जापानका करिब ४० जना विदेशी कलाकार पोखरा आएको उनले जानकारी दिए । ‘करिब ४० जना आउनुभएको छ । कतिलाई विदेशी नाटक नबुझिने हो भन्ने लाग्न सक्छ,’ परिवर्तनले भने, ‘विदेशी कलाकारले स्टेजमा नाटक मञ्चन गरिरह“दा पछाडिपट्टि सबटाइटल प्ले हुन्छ ।’

दोस्रो दिन आइतबार अभिनेता प्रकाश घिमिरे र अभिनेत्री दिया मास्केसँग अञ्जु दाहालले अभिनय केन्द्रित संवाद गर्नेछिन् । ट्युनिसियाको नाटक मञ्चन तथा विदेशीलाई मादल, बाँसुरी र सारंगी बजाउन सिकाउने कार्यक्रम पनि आइतबार नै गरिने अध्यक्ष परिवर्तनले जानकारी दिए ।

तेस्रो दिन चिनियाँ टोलीले नाटक मञ्चन गर्नेछ । उक्त दिन ‘पोखरा : सांस्कृतिक पर्यटनको केन्द्र’ सत्रमा मेयर धनराज आचार्य र संस्कृतिकर्मी तीर्थ श्रेष्ठसँग चलचित्र निर्देशक जसु गुरूङले संवाद गर्नेछिन् ।

चौंथो दिन जापानिज नाटक मञ्चन हुनेछ । उक्त दिन थिएटर, नाटक, संस्कृति र पर्यटन क्षेत्र केन्द्रीत २ घण्टाको खुला सत्र हुनेछ ।

International Drama Festival in Pokhara

अन्तिम दिन नर्वे र नेपालका कलाकारले संयुक्त नाटक प्रस्तुत गर्नेछन् । नाटक मञ्चन, संवादबाहेक महोत्सव अवधिभर सांस्कृतिक पोसाक र चित्रकला प्रदर्शनी तथा बिक्री, पद्मप्रेम थिएटर र त्रिवेणी संगीतालयको मौलिक धुन तथा सांस्कृतिक प्रदर्शनी प्रस्तुत गरिने अध्यक्ष परिवर्तनले बताए ।

०७५ मा पहिलोपटक पोखरा थिएटरले अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गरेको थियो । उक्त महोत्सवमा नेपाल, भारत, मेसेडोनियालगायत देशका कलाकारको उपस्थिति थियो । पोखरामा शनिबारदेखि सुरू भएको महोत्सव काठमाडौंमा जारी तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को समानान्तर महोत्सव हो ।

अनुप

Link copied successfully