काठमाडौँ — फरक फरक दुनियाँमा बाँचिरहेका पात्रहरू एकै ठाउँमा भेट हुनु । अनि नयाँ संसार निर्माण हुनु । विश्व सिनेमामा यस्ता खालका प्रयोग भइरहन्छन् ।
जस्तो कि छुट्टाछुट्टै फिल्ममा छुट्टाछुट्टै दुनियाँ बाँचिरहेका पात्रहरू भेट भएर अर्को ‘युनिभर्स’ निर्माण हुनु ।
सम्भवत: नेपालमा आख्यानबाहेक फिल्महरूमा यस खाले प्रयोग देखिएको छैन । तर गत बिहीबार सार्वजनिक भएको गीतिभिडियो ‘जेल पनि सहुँला २’मा यस्तै दृश्यसँग दर्शकहरूको साक्षात्कार हुन्छ ।
पाँच वर्षअघि अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टराईले ‘जेल पनि सहुँला’मा ग्रामीण परिवेशमा प्रेमको बीज छरेका थिए । ‘जेल पनि सहुँला २’मा फक्रेको प्रेमले सहरको यात्रा गर्छ ।
सहरमा जब जीवनको पात्र सार्वजनिक शौचालयमा शौच गर्न जान्छ । त्यहाँ पैसा संकलन गर्न बसिरहेकी युवतीसँग उसको भेट हुन्छ । जो दुरुस्तै आफ्नै जीवनसंगिनी जस्ती । केहीबेर एकोहिरिएपछि आफ्नी सहयात्रीलाई गएर भन्छ, ‘यो काठमाडौँमा अचम्मै हुने रहेछ क्यारे । मैले त काटिकुटी तिमीजस्तै मान्छे देखेँ ।’
शौचालयको गेटनजिक देखिएकी पात्र दर्शकहरूलाई पनि परिचित लाग्छिन् । को हुन् त उनी ? त्यसका लागि पाँच वर्षअघि सार्वजनिक भएको गीति भिडियो ‘परानै दिन्छु’मा फर्किनुपर्छ ।
उक्त गीतिभिडियोमा अभिनेता दयाहाङ राईसँग देखिन्छिन् लक्ष्मी । दयाहाङ रिक्सा चालक हुन्छन् । लक्ष्मी सार्वजनिक शौचालयमा शौच गरे बापत्को पैसा संकलन गर्छिन् । त्यही बखत उनीहरूबीचको प्रेम मौलाउँछ ।
‘जेल पनि सहुँला २’मा जीवनको पात्रले भेटेको उनै युवती हुन्, जो रिक्साचालकको प्रेममा छिन् ।
‘फरक फरक संस्कारका पात्रहरूलाई भेट गराएर नयाँ मल्टिभर्स सिर्जना गर्न मन थियो । हामीले यो भिडियोमा छुट्टाछुटै युनिभर्सलाई एउटै ठाउँमा मर्ज गरी नयाँ युनिभर्स निर्माण गर्ने प्रयत्न गरेका हौँ,’ गीतिभिडियोको निर्देशक समेत रहेकी लक्ष्मी भन्छिन् ।
लक्ष्मी र जीवनले अभिनय गरेको ‘जेल पनि सहुँला’मा एउटी शिक्षक र विद्यालयका कार्यालय सहयोगी बीच प्रेम टुसाउँछ ।
उनीहरूले विभिन्न तरिकाले प्रेम अभिव्यक्त गरिरहेका हुन्छन् । त्यही कथालाई लय दिन उनीहरूले पाँच वर्षपछि सोही गाउँको सोही स्कुलमा छायाङ्कन गरे ।
दोस्रो भागमा भने उनीहरू गाउँ छाडेर सहर हिँडे । सहरको नयाँ परिवेश र पात्रहरूसँग उनीहरूले साक्षात्कार गरे ।
तीनै गीतिभिडियोमा अभिनय गरेकी छन् लक्ष्मीले । तिन गीतमै संगीत हरि लम्सालले दिएका छन् । ‘जेल पनि सहुँला २’मा मेलिना राई र बलबहादुर राजवंशीले आवाज दिएका छन् । भिडियोलाई बुद्ध थापाले खिचेका छन् भने विष्णु खड्काले सम्पादन गरेका छन् ।
