उत्कृष्ट बन्ने अवसर गुमाएको राजागंज

गम्भीर सामाजिक मुद्दामा बनेका चलचित्रले पीडित पात्रप्रति अनुभूति राख्ने नाममा कतै अपराधको अनुमोदन त भइरहेको छैन भन्नेतर्फ पनि ख्याल गर्न उत्तिकै आवश्यक छ ।

चैत्र ७, २०८१

असीम तिमल्सिना

Rajaganj who missed the opportunity to be the best

काठमाडौँ — सडकको माझमा दनदनी बलिरहेको छ विरोधको झिल्को । छेउबाट प्रहरीको गाडी अघि बढ्नै लागेको छ । तर एकाएक आइपुग्छन् साँढेका एक हुल । बाटो नै छेकिएपछि प्रहरीको गाडी रोकिन्छ । एकैछिन रोकिनुपरे त ठीकै हो, यही बेला हुलका दुई साँढे भने सिँगौरी खेल्न थाल्छन् ।

फिल्म राजागंजको यो दृश्यले सुषुप्त तर विम्बात्मक रूपमा भनिरहेको हुन्छ- मधेश जलिरहेको थियो, साँढेहरू जुधिरहेका थिए ।

विम्बबाटै कुरा उप्काऔं ।

राजागंजमा प्रयोग भएका ‘प्रप्स’हरू अधिकांशत विम्बात्मक नै छन् । प्रायः प्रप्सले दृश्यमा गहिरो अर्थ भरेका छन् । निर्देशक दीपक रौनियारको विम्बसँग खेल्ने शैलीले ठ्याक्कै अमेरिकी फिल्ममेकर एवं पटकथा लेखक एन्ड्रिउ स्टान्टनको ‘२+२ रुल अफ स्टोरीटेलिङ’ लाई सम्झाउँछ ।

स्टान्टन भन्छन्- दर्शकलाई कहिल्यै पनि ४ देखाउनु हुँदैन । २ र २ देखाउनुपर्छ अनि तिनलाई जोड्दै ४ सम्म पुग्न दर्शकलाई नै छोडिदिनुपर्छ । कथाका डटहरू जोड्ने काम दर्शकलाई नै सुम्पिदिनुपर्छ ।

जस्तो, एकातिर सडकमा आगो बलिरहेको दृश्य (२) अनि अर्कोतिर सडकमै साँढे जुधिरहेको दृश्य (२) । निर्देशकले बस् यत्ति देखाएका हुन् । यसलाई डिकोड गर्दै ४ अर्थात् मधेश जलिरहँदा साँढे जुधिरहेको परिदृश्य दर्शक आफैंले जोडघटाउ गर्दै निर्माण गरेका हुन् । त्यस्तै चलचित्र अर्को दृश्यमा भित्तामा टाँसिएको भगवान् कृष्णको तस्बिरबाट पनि २ र २ जोड्दै दर्शकले कुनै पात्रको अन्तर्निहित उद्देश्यको पृष्ठभूमि थाहा पाउँछन् ।

तर चलचित्रमा प्रयोग भएका केही प्रप्सले भने विम्ब त बोकेका छन्, कथामा तिनको उपादेयता के हो भन्ने चाहिँ खुल्दैन ।Rajaganj who missed the opportunity to be the best

जस्तो, इन्सर्टमा देखाइने पृथ्वीनारायण शाहको तस्बिर र राजा वीरेन्द्रका परिवारको तस्बिर । कथा अघि बढाउन यी प्रप्सका भूमिका के ? ठ्याक्कै प्रस्ट हुँदैन । अर्को, निर्देशकले चलाखीपूर्वक एउटा दृश्यमा अंग्रेजीमा ‘पृथ्वीनारायण साह’ लेखिएको नेमप्लेट देखाएका छन् । यसले ‘पृथ्वीनारायण शाह’ सँग विरोधाभास त सिर्जना गर्छ तर पुनः प्रश्न त्यही, कथामा उपादेयता के ?

उपादेयता विम्बको मात्र होइन, समानान्तर बगेको उपकथाको पनि के ?

२०७२ को संविधान निर्माणको सेरोफेरोमा मधेशमा भएको अशान्तिको फेरो समाउँदै बालक अपहरणको कथा भन्न खोजिएको चलचित्र हो- राजागंज । निर्देशक रौनियारको कथानकको केन्द्रबिन्दुमा छन् दुई पात्र- पहिलो, जसको बच्चा अपहरणमा परेको छ । दोस्रो, जसको गर्भको बच्चा पहिलो महिलाका कारण तुहिएको छ ।

चलचित्रको समग्र कथा यी दुई महिलाकै वरिपरि घुमे पनि निर्देशक रौनियारले कथानकको साटो मधेशप्रतिको कमेन्ट्रीमा केन्द्रित हुँदा चलचित्रले उत्कृष्ट बन्ने अवसर गुमाएको भान हुन्छ । किनकि, चलचित्रको ‘रेजोल्युसन’ले नै बताउँछ बालक अपहरणमा मधेश आन्दोलनको ‘ब्याकड्रप’ कहीँ कतै आवश्यकै थिएन ।

मधेश आन्दोलनको पृष्ठभूमि नभएको भए पनि बालक अपहरणको मूलकथा उत्तिकै पेसमा उत्तिकै सघन बन्न सक्थ्यो । बरु समानान्तर कथाको उपक्रम बुन्ने क्रममा निर्देशकले मूल कथामाथि अन्याय गरेको भान हुन्छ । जति गम्भीर सामाजिक टिप्पणी चलचित्रमार्फत देखाए पनि ती विषय अन्ततः कथानकमा चाहिँ असम्बन्धित हुँदा खल्लो महसुस हुन्छ ।

यद्यपि, पुनश्च रौनियारले कथालाई अन्याय गरे पनि प्राविधिक पक्षमा भने अब्बल देखिएका छन् । सिनेमाटोग्राफर शेल्डेन चाउले राजागंजका हरेक दृश्यलाई जीवन्त बनाएका छन् । ‘लो कि लाइट’मा छायांकन गरिएका दृश्यहरू होऊन् वा क्यामेराका चाल, तिनले कथाको सस्पेन्सलाई कसिलोसँग अघि बढाउँछन् । तराईको भूगोल र समाज होस् वा आन्दोलन र अशान्ति, यस चलचित्रमा भएको तिनको दृश्यांकन आउँदा नेपाली चलचित्रलाई ‘सूत्र’ नै हुन सक्छ ।

केही कुरा उत्कृष्ट हुनुको अर्थ हो, त्यसको ‘टेक अवे’ हुनु । अर्थात् उत्कृष्ट चिज जहिल्यै अनुसरणीय हुन्छ । राजागंजको ‘टेक अवे’ यसको सिनेमाटोग्राफी हो ।

चलचित्रको अर्को प्रशंसनीय काम ध्वनिमा भएको छ । ‘एम्बियन्स साउन्ड’ मा भएको मेहनतले चलचित्रलाई वास्तविकतासँग नजिक पुर्‍याएको छ । यस्तै सम्पादनले पनि चलचित्रको गतिलाई न कम हुन दिएको छ, न बढी । परिणामतः चलचित्र हेरुन्जेल झर्को मान्नुपर्ने स्थिति आउँदैन ।

चरित्र चित्रण
धेरै कुरामा अब्बल हुँदाहुँदै पनि चलचित्रको सुधारयोग्य पाटो चरित्र चित्रण पनि हो । जस्तो, गम्भीर सामाजिक मुद्दामा बनेको चलचित्रमा प्रजिअ वा एसपी मदन राई (दयाहाङ राई) लाई गरिएको चित्रण निकै ‘क्लिसे’ छ । यसले निर्देशकले चाहेको कथा त बन्ला तर सामाजिक टिप्पणी गरेको भनिएको चलचित्रले कतै ‘भिक्टिम कार्ड’ त खेलेको होइन भन्ने जोखिम पनि उत्तिकै हुन्छ ।Rajaganj who missed the opportunity to be the best

यसबाहेक चलचित्रको मुख्य पात्र, इन्सपेक्टर पूजा थापा (आशा मगराती) को चरित्र चित्रण पनि त्यति आश्वस्त पार्ने छैन । बलियो यौनिक तथा लैंगिक अल्पसंख्यक पात्रमार्फत कथा अघि बढाउनु सराहनीय भए पनि त्यो पात्रको चित्रणलाई स्थापित गराउन नसक्नुमा भने कमजोरी देखिन्छ ।

बेलायती इन्टेलिजेन्स संस्था (एमआई-६) बाट तालिमप्राप्त भनिएकी प्रहरी अधिकृत पर्दामा भने हो नै भन्ने गरी प्रस्तुत भएको पाइँदैन ।

चरित्र चित्रण अन्य पात्रको हकमा स्थापित भइहाल्ने पाइँदैन ।

अभिनय
निकै छोटो भूमिकामा देखापर्ने कलाकार पशुपति राई र तुलनात्मक रूपमा कम दृश्यमा अटाएकी निकिता चण्डकको अभिनय जीवन्त देखिन्छ । तर, चलचित्रको मुख्य प्रोटागोनिस्ट आशा मगरातीको अभिनय भने कथाको मागबमोजिम पाइँदैन । भागदौड होस् वा आन्दोलनकारीबाट कुटाइ खाएपछिको दृश्य वा होस् तनावरहित माहोल; इन्स्पेक्टर पूजा सरको भावभंगी उस्तै छ, सपाट ।

मधेशको समाज र संस्कारसँग अपरिचित मुख्य पात्र मधेश आएर राष्ट्रिय स्तरको केस समाधान गरिसक्दा पनि त्यो पात्रमा ‘रियलाइजेसन’ अभिव्यक्त नहुँदा अभिनयले कथाको गतिमा अवरोध सिर्जना गरेको देखिन्छ ।

एसपी मदन राईको भूमिकामा देखिएका दयाहाङ राईको अभिनय पनि ‘अन्डरप्ले’ नै छ । विजय बराल अमरको पात्रमा खुल्न सकेका छैनन् ।

कथाका छिद्र
प्रहरी अनुसन्धान विधामा बनेको चलचित्रको मुख्य पक्ष हो, अनुसन्धाता बारम्बार ‘डेड एन्ड’मा पुग्नु र त्यहाँबाट निस्कन उसले संघर्ष गर्नु । यो किन पनि आवश्यक हो भने, यसले पात्रको उफान अभिव्यक्त गर्दै तनाव सिर्जना गर्छ । आखिर कथा भन्नु नै तनाव र तनावको समाधान गर्ने पात्रको समष्टि त हो ।

राजागंजमा भने यस्तो खाले तनाव देखिँदैन । मुख्य पात्र पूजा सर डेड एन्डमा पुगेर त्यहाँबाट निस्कन गरेको संघर्ष भेटिँदैन । कथाको यो छिद्रले पनि यो पात्रको चरित्र चित्रण कमजोर गरेको हुन सक्छ ।

अर्को, अपराध अनुसन्धान विधाका चलचित्रमा अनुसन्धातासँग एउटा ‘मोटिभ’ अर्थात् उद्देश्य हुने गर्छ । यो उद्देश्य कथाको ‘ड्राइभिङ फोर्स’ समेत हो । तर पूजा सर र अपहरित बालकबीच वा तिनका परिवारबीच कुनै खाले सम्बन्ध नदेखाइँदा कथाको ड्राइभिङ फोर्स कमजोर भएको भान हुन्छ । परिणामतः बेलाबखत चलचित्रले लिकभन्दा बाहिर गएको देखिन्छ ।

अपराध अनुसन्धान गर्दा प्रहरीले अपराधी खोज्ने हो, न कि अपराधी प्रहरीसम्म आउने । राजागंजको कथाको अर्को ‘लुजएन्ड’ भनेको अपराधीलाई प्रहरीसम्म पुर्‍याउनु हो, अपराधको अन्वेषण नहुनु हो । समस्याहरू सहजै समाधान भइदिँदा यसले केही हदसम्म कथालाई कमजोर बनाएको छ ।

फिल्म समीक्षामा अक्सर भनिन्छ, डु नट लूक फर वाट् इज नट इन द फिल्म । अर्थात् चलचित्रमा के देखाइएन त्यसबारे समीक्षा गर्न आवश्यक छैन ।

एकैछिन यो नियम तोड्दै भन्नैपर्छ, कथाले जे देखाउनुपर्ने हो त्यो देखिन्न । अर्थात्, दुई महिलाको सन्तानमोहमा गहिरिएर जान नसक्दा यो चलचित्र उत्कृष्ट बन्न चुकेको छ ।

दुई आमा (एक गर्भ तुहिएकी) को इगोको क्लेश कथाको मुख्य बिन्दु हुँदाहुँदै त्यसलाई मधेश आन्दोलनको फुर्को जोड्ने प्रयास गर्दा कथाले स्वाभाविक अवतरण गरेको पाइँदैन ।

अर्कोतर्फ यस्ता गम्भीर सामाजिक मुद्दामा बनेका चलचित्रले पीडित पात्रप्रति अनुभूति राख्ने नाममा कतै अपराधको अनुमोदन त भइरहेको छैन भन्नेतर्फ पनि ख्याल गर्न उत्तिकै आवश्यक छ ।

असीम असीम कान्तिपुर टिभीमा आवद्ध छन् । सिनेमा र रंगकर्म उनको रुचिको बिषय हो ।

Link copied successfully