काठमाडौँ — नेपालमा फिल्म लेख्न कति हतारो हुन्छ ? अधिकांश पटकथाकारको अनुभवले भन्छ,'फिल्म लेख्न समय नै दिइँदैन' । कति फिल्म त पहिला घोषणा हुन्छ अनि मात्रै लेख्न बसिन्छ । अथवा लेख्दालेख्दै फिल्म निर्माणदेखि प्रदर्शनको मितिसमेत तोकिन्छ । छायांकनस्थलमै पटकथा लेखिएका गजब्ब किस्सा सुन्न पाइन्छन् । 'तातै खाउँ जली मरुँ' शैलीमा लेखिएका फिल्मका वजन कति गह्रौं बन्दा हुन् ? के पटकथा लेखनमा समय लगानी गर्नुपर्दैन ?
'ब्ल्याक', 'गुजारिस', 'लुटेरा', 'राजी', 'सामबहादुर'जस्ता फिल्म लेखेकी बलिउडकी चर्चित पटकथाकार भवानी अय्यर पटकथा लेखनमा फिल्मकर्मीले समय खर्चनुपर्ने बताउँछिन् । शिक्षा फाउन्डेसनद्वारा आयोजित 'पटकथा लेखन कार्यशाला'मा १६ पटकथाकारलाई आफ्ना अनुभव र ज्ञान बाँड्न नेपाल आइपुगेकी भवानी पटकथालाई जगको रुपमा उल्लेख गर्दै 'घर बलियो हुन जगमै मजबुत हुनुपर्ने' धारणा राख्छिन् ।
'लेखन फिल्मको अस्थिपञ्जर हो । यो त जग नै हो । घर बलियो हुन, जग बलियो हुनुपर्छ । जग बनाउन थोरै समय खर्चिएन भने घर भत्किने पक्का हुन्छ । सिमेन्ट पनि त राम्रोसँग लगाइएको हुनुपर्यो । कथा त्यसरी लेख्नुपर्छ । पटकथा त पटक-पटक लेख्नुपर्छ, पुनर्लेखन गर्नुपर्छ,'भवानीले भनिन् ।
भवानीले लेखेको 'लुटेरा' फिल्ममा परिणत हुन ९ वर्ष लाग्यो । 'काफिर'लाई १३ वर्ष लाग्यो । 'ब्ल्याक' र 'राजी' बन्न भने त्यति समय लागेन । डिसेम्बरमा चर्चित निर्देशक सञ्जयलीला भन्सालीसँग भेटेकी थिइन्, मार्चतिर 'ब्ल्याक'को छायांकन सुरु । 'राजी' लेख्न मात्र १ वर्ष लाग्यो । 'राजी'को लेखन सुरु गर्दा फिल्ममा निर्माता थिएन । निर्माता नभएपछि दबाब कम हुने भयो, लेखकले चाहेजस्तो कथा लेख्न सकिन्छ भन्ने स्वतन्त्रतामा एक वर्ष मज्जाले खर्चिन् ।
लेखनका केही प्रक्रियामा निर्माताले गर्ने हस्तक्षेप बलिउड र नेपालमा उस्तै रहेछ । ४/५ पानाको पटकथा लेख्न नपाउँदै कति निर्माता भवानीलाई भन्थे,'खोइ, कथा पढ्न देउ न' । उनीहरु कतिले त ती पन्नामा भएका दृश्यहरु बुझ्दैन पनि थिए । तर हस्तक्षेप जमाउन छोड्थेनन्, -'यो दृश्य नराखौं' भन्थे । त्यसैले निर्माता तय नहुँदै आलिया भट्ट र विक्की कौशलको मुख्य अभिनय रहेको फिल्म 'राजी' लेखिन् ।
'तर यसरी हस्तक्षेप गर्यो भने लेखनका क्रममा कथामा आउन सक्ने जादुमयी क्षणहरु त हराउँछ । लेख्न नपाउँदै हस्तक्षेप भयो भने कथाका कति सुन्दर पक्ष त्यसै हराइजान्छ भनेर निर्देशक मेघना गुल्जारलाई भनें,'भवानी राजी लेख्दाका समय सुनाउँछिन्,'हिन्दी फिल्ममा निर्माताहरु बलिया छन्, स्टूडियो बलियो हुन्छ । तर, अधिकांश समय तपाईं कथामा प्रस्ट हुनुहुन्छ भने उनीहरू ती कथामा सहमत हुन्छन् ।' 'सामबहादुर' बन्न ७ वर्ष लाग्यो, फिल्म नबनुञ्जेल एउटा स्क्रिप्टमा काम भइरहन्छ नै ।
भवानी पटकथा लेखनसम्बन्धी कार्यशालामा फाउन्डेसनका प्रवेश गुरुङमार्फत जोडिएकी हुन् । प्रवेश गुरुङ उनका मिल्ने साथी । 'गुजारिस'मा सँगै काम गरिन् ।
'ब्ल्याक लेख्दादेखि नै मैले उसलाई चिनें । प्रवेशको परिवारद्वारा स्थापना गरिएको शिक्षा फाउन्डेसनले कार्यशाला गर्दै थियो । कार्यशालामा आउँछु भन्न दुईचोटि सोच्नै परेन । म फिल्मका विद्यार्थीहरुसँग अन्तरक्रिया गर्न रुचाउँछु । समकालीन लेखकहरूसँग भेट्न मन पराउँछु । यो पटक आउने समय पनि जुर्यो,'काठमाडौंको हायतमा भेटिएकी भवानीले सुनाइन् ।
फिल्म लेखनसम्बन्धी यस्ता थुप्रै कार्यशालामा भवानीले कक्षा दिइसकिन् । थुप्रै 'मास्टरक्लास' दिइन् । उनलाई थाहा छ, यस्तो किसिमको कार्यशाला र त्यसभित्रको सिकाइले बुलन्द लेखक जन्माउँछ । उनीहरूमा व्यावसायिक दबाब हुँदैन । उनीहरू त्यतिबेला असलीमा शुद्ध कथा वाचक हुन्छन् । यस्तो अवस्थामा विद्यार्थीबाट उनीहरूलाई सिकाउँदै आएको शिक्षकले पनि सिक्ने मौका पाउने हो । उनलाई त्यही मौकाले पनि 'गो टेल इट अन दि माउन्टेन'शीर्षकको कार्यशालाले लोभ्याएको हो ।
'म आफैं पनि तालिमप्राप्त लेखक होइन । कति पटक यस्तो कार्यशालामा तालिमप्राप्त लेखक पनि आउँछन् । त्यसैले म नर्भस पनि छु । कार्यशालाको अन्तिममा सहभागी पटकथाकारका निर्माणाधीन कथाको रेडिमेड स्क्रिप्ट तयार पार्ने होइन, फिल्मको कथा कसरी भन्ने ? विषयमा केन्द्रित हुन्छ । दणिण एसियाका कथा कसरी भनिनुपर्छ भन्ने उद्देश्य नै हो,'उनले भनिन्,'हलिउड, युरोप र बेलायती फिल्मभन्दा हाम्रा दक्षिण एसियाका फिल्महरु कसरी भन्ने ? त्यसमा हाम्रो पृथकता, हाम्रा संस्कृतिका सुक्ष्मतालाई कसरी लेखनमा समेट्ने भन्ने नै हो ।'
सहभागी पटकथाकारले नेपाली समाजको मौलिक कथा भन्नेछन् भन्नेमा उनी आशावादी छिन् । 'तपाईं हुर्केको समाज र संसारको कथालाई तपाईंले जसरी भन्न सक्नुहुन्छ, त्यसरी कसैले भन्न सक्दैन । यही कुरालाई लेखकले आफ्नो कडी बनाउनुपर्छ, र लेखनमा यस्तै पक्ष पक्रेर लेख्नुपर्छ,'भवानीले भनिन्,'कथा जति लोकल भयो त्यति ग्लोबल हुन्छ । नेपाली बाबु छोराको भावना त स्वीडेनको बावु र छोराको कथा पनि त हो' । विश्व दर्शकले स्वीकार्ने कथामा पनि उनी यही पक्ष समात्नुपर्ने धारणा राख्छिन् ।
'पश्चिमाहरुको आँखामा पर्न उनीहरुले चाहेजस्तो कथा होइन आफूलाई भन्न मनपर्ने फिल्म पहिला बनाउनु पर्यो । अनि ती कथा उनीहरुले स्वीकार्छन्,'उनी ठोकुवा गर्छिन् । नेपालमा विदेशी 'फन्ड'मा फिल्म बनाउने 'आर्ट हाउस' फिल्म छन् । विदेशको लगानी भएपछि कति पटक सर्जकले कति कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा मौलिकता कसरी जोगाउने ? मौलिकता जोगाउनु कठिन रहेको भवानी बताउँछिन् । उनी भन्छिन्,' सबैभन्दा गाह्रो कुरा नै मौलिकता जोगाउनु हो । तर आफूले भन्ने कुरामा सम्झौता गर्नु भएन, तपाईंले कथा लेख्नुभएको छ भने कसरी बन्नुपर्छ भन्ने अधिकार तपाईंमा हुन्छ ।'
भवानीको डेब्यू लेखनमा तयार 'ब्ल्याक'ले २०औं वर्ष पूरा गर्यो । फिल्म लेख्नुअघि उनी पत्रकारिता गर्थिन् । पत्रकारिताले लेखन अनुशासन सिकायो । सीमित समयमा तथ्यपरक विषयवस्तु पस्कन पनि सिकायो । सीमित समयमा लेखनका लागि उति समय पनि पाउँदिन थिइन्, 'डेडलाइन'मा त समाचार बुझाउनै पर्यो । त्यतिबेला भवानीलाई लाग्थ्यो,'म राम्रो पत्रकार होइन' । पत्रकार छिटो र छरितो हुनुपर्यो, सबै कुरा बुझेको हुनुपर्यो । तर, उनी कथाहरु कल्पन सक्थिन् । त्यसैले लेखनतिर मोडिन् । अनि पहिलो फिल्म लेखिन्,'ब्ल्याक'- शिक्षक र विद्यार्थीको सुन्दर कथा ।
सुरुमा सञ्जयलीला भन्सालीसँग मिलेर भवानीले हेलेन केलरको बायोपिक बनाउने सोचेकी थिइन् । तर, फिल्मका लागि अधिकार पाएनन् । हेलेनको शिक्षक एन्नी सुभलेन महिला थिइन् । उनले सुभलेन भन्ने पात्रलाई पुरुष बनाएर फिल्म लेख्ने सोचिन् । शिक्षकबाट सिक्दै गएकी पात्रले शिक्षकलाई सिकाउने अवस्थासम्म पुगेको महिला पुरुष सम्बन्ध रोचक बन्दैन त ? त्यही पक्ष समात्दै 'ब्ल्याक' लेखिन् ।
'ब्ल्याकबाट मेरो लेखन यात्रा सुरु भयो । त्यतिबेलासम्म पनि फिल्मबाट कस्तो कथा भन्ने सोचिसकेको थिएन । तर, विस्तारै लेख्दै आएँ । ९ वर्षअघि लेखेको, १३ वर्षअघि लेखेको कथामा फिल्म बन्दै आयो । लेखन यात्रा निकै अनौठो, रोचक बन्दै गयो । यो यात्रामा रमाउँदै आएँ । मैले केही कुरा योजना बनाइँन, तर यात्रा एकपछि अर्को फिल्म हुँदै अगाडि बढ्यो,'२० वर्षको लेखन यात्रा सम्झिन् ।
दुई दशकको फिल्म लेखनमा भवानीले आफ्नो शिल्पमा विस्तारै परिवर्तन हुँदै आएको अनुभव गरेकी छन् । निरन्तर लेख्दै आइन् । निरन्तर लेखिरहँदा शिल्प हुँदै अनुभवहरुले लेखन बलियो बनाएको उनी सुनाउँछन् ।
'जीवनका अनुभवहरूले पनि मैले भन्ने कथाको गहिराइ नाप्न लगायो । फिल्म लेख्दा म निकै कम उमेरको थिएँ । जीवनमा अनुभव कम थिए । म राम्रै परिवारमा हुर्कें । मलाई बाहिरी संसार खासै थाहा थिएन, संघर्ष थाहा थिएन । तर समयँगै पीडा, दु:ख, गुमाउँदाका अनुभवहरु पाएँ । त्यही अनुभवले नै लेखनमा देखिँदै आयो,'भवानी सुनाउँछिन् । फिल्म लेख्दै जाँदा भवानीले लेखनमा आफ्नो छुट्टै संसार भेटिन्, देखिन् ।
भवानी भन्छिन्,'एउटा फिल्म लेखिसकेपछि अर्को कुन लेख्ने ? केही अत्तोपत्तो नहुँदै लेखनमा फालें । कथा ठोक्किन आइपुगे, चरित्र ठोक्किन आइपुगे । त्यसैलाई आफ्नो तरिकाले भन्दै आए, कथावाचन नै हो मैले गर्नुपर्ने भन्ने लाग्यो' ।
'लुटेरा' र 'राजी'का महिला
भवानीले कहिल्यै महिलाप्रधान फिल्म लेख्ने विचार राखिनन् । तर, आफूले लेखेका फिल्मका महिला चरित्रलाई लिएर उनी सचेत थिइन् । अधिकांश बलिउड फिल्ममा महिलाका चरित्र सहायक रूपमै लेखिएका हुन्थे, जसले हिरोलाई सहयोग मात्र गर्छ । तर, महिला पात्रका आफ्नै गन्तव्य हुन्छन्, यात्रा हुन्छन् । उनका आफ्नै सपना हुन्छन् र आवश्यकता हुन्छन् ।
यही पक्ष समात्दै उनले हरेक फिल्ममा महिला चरित्र लेखिन् । 'मलाई कहिल्यै लागेन मेरो आवाज, कुनै पुरुषको भन्दा कम छ । त्यसैले मैले हरेक महिला चरित्रलाई सहायक मात्र बनाइनँ,'भवानी परिपक्व सुनिइन् । 'ब्ल्याक' लेख्दासम्म उनी महिला चरित्रलाई लिएर संवेदनशील थिइन् । त्यो कथा महिलामा आधारित हुनुपर्छ भन्ने लाग्यो, त्यसैअनुरूप लेखिन् । तर फिल्महरु हेर्दै जाँदा महिलाका आवाज सुनिन जरुरी छ भन्ने ज्ञान बढ्यो उनमा ।
बलिउडमा अधिकांश महिला आइटम गीतमा अटाउँथे । महिलाका कथामा आधारित फिल्म पनि 'आइटम गीत'मै आएर टुङ्गिन्थ्यो । 'होला महिलाहरु कम्मर हल्लाउन सक्लान् । तर उनीहरू त्यतिमै सीमित हुनुहुन्न भन्ने भएपछि महिलालाई यथार्थ चरित्रका रूपमा लेख्न थालें । फिल्ममा धेरै चरित्र राख्ने अवसर मिल्यो भने पुरुषजत्तिकै बराबार महिला चरित्र लेख्छु । ५ जना पुरुष ६ भने पाँच महिला चरित्र लेख्छु,'उनले भनिन्,'मैले कहिल्यै महिला पात्रलाई बिचरी लेखिनँ । महिलाका सपना, शिक्षा, भावना हुन्छ र त्यस्तो कथा देखिनुपर्छ भनेर यस्ता चरित्र लेखें' ।
'लुटेरा'को पाखी (मिनाक्षी सिन्हा)चरित्र पनि कमजोर छैन । यो भवानीको तेस्रो फिल्म । पहिला फिल्मको नाम 'द लास्ट लिफ' थियो । पाखी चरित्रमा भवानी धेरै आफूलाई भेट्छिन् । पाखी लेखक थिइन्, दमसँग लडिरहेकी पात्र । भवानीले पनि दमसँग लड्नु पर्यो ।
'मलाई थाहा थियो पाखी चरित्रका लागि आवश्यक गहिराइ र मिहीन पक्ष केलाउँदै लेखिनुपर्छ,'उनी उक्त चरित्र लेख्दाका समय सम्झिन्छिन् । यो फिल्म गरिरहँदा निर्देशक विक्रमादित्य मोटवानीसँग कति कुरामा असहमत पनि जनाउनु पर्यो । विक्रमले एक समय फिल्मलाई एक्सन विधामा परिवर्तित गर्ने सोच्यो । त्यसैले ९ वर्ष लाग्यो यो फिल्म बन्न ।
'राजी' लेखिरहँदा 'इन्डो-पाक' सम्बन्धमा अतिरञ्जना नमिसाइ उनलाई कथा भन्नु थियो । भारत र पाकिस्तानलाई एकअर्काको दुष्मनका रूपमा प्रस्तुत गर्नु थिएन । पाकिस्तानकी पात्रले आफ्नो देशका लागि जे गर्छे, त्यही नै भारतको पात्रले देशप्रति गरिरहेको हुन्छ भन्नेमा प्रस्ट थिइन् ।
दुवै पात्र देशप्रति इमान्दार थिए, बुवाले समातेको विरासत पच्छ्याइरहेका थिए । तर, कोही पुरुषले आफ्नो देशप्रति देखाएको देशभक्तिसँग कुनै महिलाको भाव कम हुन्छ र? उसले देखाएको इमान्दारिताको मूल्य पनि त उत्तिकै हुन्छ, यही पक्ष समाउँदै राजी लेखिन् । 'दुई देशलाई दुष्मन देखाउनु त मूर्ख काम हो । होला कुनै बेला विभाजन भयो होला । त्यसको मतलब दुई कुरा दुष्मन नै हुन्छ भन्ने होइन,'उनले भनिन् ।
जुन किताब(कलिङसमेत) आधारित भएर यो फिल्म लेखिएको थियो, त्यसका कथा महिला चरित्रतर्फ बढी ढल्किएको थियो । तर, भवानीले नै फिल्ममा दुबै चरित्रलाई उत्तिकै सत्य र सटिक प्रस्तुत गर्ने ठानिन् । 'राजी'ले बक्स अफिसमा राम्रो गर्ला भन्ने सोचिएको थिएन । आइपिएलको समयमा फिल्म रिलिज भयो । फिल्ममा कुनै ठूला पुरुष स्टार थिएनन् । तर त्यतिबेला रमाइलो प्रसंग उठ्यो -फिल्ममा त सबैलाई मुस्लिम बनाइदियौं । 'एकजना पुरुषलाई त हिन्दू बनाइदिएको भए हुन्थ्यो' भन्ने खालका कुरासँग ठोक्किए । दर्शकले ती पक्ष नहेरी कथा हेरिदिए ।
लेखकलाई उचित पारिश्रमिक नदिने सवाल पनि भारत र नेपालको अनुभव उस्तै भेटियो । 'भारतमा पनि लेखकले जति पाउनुपर्ने हो त्यति पाइरहेका छैनन् । तर, फिल्म लेखकसँग सम्बन्धित संस्थाले उनीहरुका अधिकारका लागि लडिरहेका छन् । त्यसैले त पटकथाकारका लागि छुट्टै संस्था हुनुपर्छ,'उनले भनिन् ।
विडम्बना नेपालमा यस किसिमको संस्थासमेत छैन जसले पटकथाका पारिश्रमिकका सवालमा आवाज उठाइदियोस् । हालै निर्देशक अनुराग कश्यपले बलिउड छाडे । बलिउडको तत्काल समयलाई कतिले आ-आफ्ना तरिकाले व्याख्या गरेका छन् । भवानीलाई लाग्छ, यो बलिउडको पुनर्जन्म हुने समय हो । 'कुनै पनि सिर्जनात्मक क्षेत्र विकसित हुन खोज्छ । अथवा भनौं ती क्षेत्र पुन:जन्म हुने अवस्थामा हुन्छ ।
सायद अहिले हिन्दी फिल्म यही अवस्थामा छ,'उनले भनिन् । विशेष त फिल्म क्षेत्रमा जस्तो फिल्म चल्छ, त्यस्तै लहरमा फिल्म बनाउने बढ्छन् । फिल्म निर्माणमा त्यही शूत्र बन्दै जान्छ । तर, स्वतन्त्र फिल्मकर्मीका फिल्मले उचित स्थान पाउँदैनन्, हल पाउँदैनन् । अनि ठूला स्टुडियोको आँखा ती कथामा आँखा पर्दैन,'उनले भनिन्, 'सायद केहीले बुझिसके, कस्तो कथाले बजार पाउँछ र कस्तोले पाउँदैन । त्यसैले अहिले अनुरागहरू कथामा ध्यान दिँदैछन् । जब यस्तो आभास हुन्छ तब महान फिल्म बन्छन्' ।
