अनुराग कश्यपले गरे 'राजागंज'को प्रशंसा

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Anurag Kashyap praised 'Rajaganj'

काठमाडौँ — बलिउड फिल्ममेकर अनुराग कश्यपले निर्देशक दीपक रौनियारसँग फिल्ममा सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

उनले सोमबार एक भिडियो सन्देशमार्फत् रौनियारको प्रशंसा गरेका हुन् । 'म खुसीसाथ भन्नसक्छु, दीपकसँग सहकार्य गर्न पाउँदा गर्व महसुस गरिरहेको छु,' उनले भनेका छन्, 'नेपालमा दुई फिल्ममेकरलाई म निकै मान्छु । एक मीन बहादुर भाम र अर्को दीपक रौनियार ।'

उनले 'राजागंज' उत्कृष्ट फिल्म भएको भन्दै थपे, 'यो नेपालको फिल्म हो । यहाँ नेपाल देखिन्छ । यो कथा नेपालमा मात्र हैन, इन्डियामा पनि रिलेट गर्न सकिन्छ ।' 

उनले नेपालको फिल्म धेरै माथि जान सक्ने पनि प्रक्षेपण गरे । भने, 'जहाँ जान आवश्यक पनि छ । त्यो यस्तै फिल्ममार्फत् जान्छ । दर्शकले साथ दिए भने जान्छ ।' उनले आफू रौनियारको फ्यान भएको भन्दै थपे, 'तपाईं यस्तै फिल्म बनाइराख्नुस्...।'

उनी फिल्म 'राजागंज'को कार्यकारी निर्माता समेत हुन् । यो फिल्म अहिले हलहरूमा प्रदर्शन भइरहेको छ ।

कान्तिपुर

Link copied successfully