काठमाडौंमा गुन्जिए गुलाम अली

नेपालीहरु सुर मनपराउँछन् : गुलाम अली

चैत्र २, २०८१

रीना मोक्तान

Ghulam Ali resonated in Kathmandu

काठमाडौँ — गाजलु ती ठूलाठूला आँखा

गाजलु ती ठूला-ठूला आँखा

तीर बनी पसे यो दिलैमा 

कालो लामो परेली केश

छाल परे कलिलो मायामा…

मञ्च उक्लेको क्षण नबित्दै दर्शकले उस्ताज गुलाम अलीलाई उनैले गाएको यही चर्चित नेपाली गजल गाउँदै स्वागत गरे । अलीले मिठो मुस्कानसहित दर्शकको आतिथ्य स्वीकारे । करिब २ घण्टाको पर्खाइपछि उस्ताजलाई मञ्चमा देख्दा उत्साहित बनेका दर्शकले क्यामेरामा उनलाई कैद गर्न थाले । स्टेज उक्लनुअघि उस्ताजको एउटा अनुरोध थियो, ‘म मञ्चमा हुँदा रक्सीका ग्लासहरु दर्शकबीच नदेखियोस् ।’ 

गजलसँग रक्सी नसुहाउने ‘कम्बो’ होइन । तर, रमदान चलिरहेको हुँदा रोजा फुकाएर मञ्चमा देखिएका उस्ताजले रक्सीका ग्लासलाई आफ्नो प्रस्तुतिबीच देख्न नचाहनु दर्शकका लागि पनि स्वागतयोग्य थियो । उस्ताजले गाउन थालेपछि दर्शकको व्यग्र प्रतिक्षा समाप्त भयो । ‘गोरी तेरी नैना’बाट गजल गाउन सुरु गरेका उस्ताजले त्यसपछि ‘जान मे मेरी जान आइ थी’लगायत गजल पस्के । गजल गाइरहँदा उस्ताजले नेपालीको तारिफ गरिरहे । ‘गोरी तेरी नैना’बोलको गजल गाइसकेपछि भने, ‘म आज एकदम खुशी छु । नेपालमा आउने दोस्रो मौका पाएँ । यहाँ सबैले सुर मनपराउँछन् । सुर मन पराउनेहरुको मन सफा हुन्छ, राम्रो हुन्छ । अलीको कुरा सुन्नेबित्तिकै दर्शकले जोशमा ताली बजाए । तालीको गडगडाहटमा अली चट्ट मुस्कुराइदिए । अलीलाई स्टेजमा सुपुत्र आमिर गुलाम अली, नाती नजर अली अब्बासले साथ दिए । त्यसअर्थमा मञ्चमा गुलामको तीन पुस्ता उपस्थित थिए । 

Ghulam Ali resonated in Kathmandu

केही गजल गाइसकेपछि उस्ताजले दर्शकबाट फर्माइसको चाह व्यक्त गरे । ‘अब तपाईंहरुले फर्माइस् राख्नुस्,’अलीले यत्ति भनेसी दर्शकबीच कोलाहल मच्चियो । सबै उत्साहित हुँदै फर्माइस् राख्न थाले - चुप्के चुप्के, गाजलु ती, किन किन तिम्रो तस्बिर..। सायदै भीडको फर्माइस ८४ वर्षे उस्ताजले बुझे । भीडले एकसाथ चर्चित गजलबाट एउटै शीर्षक रोज्नु गाह्रो विषय हो । त्यसैले अलीले आफैले अर्को गीत गाए, ‘ए दिल पागल दिल मेरा, क्यूँ बुझ गया आवारगी’ । मधुर आवाजमा अलीले गीत गाए, स्थायी गाउन दर्शकले साथ दिन्थे । जब, अली ‘आवारगी’ शब्द गाउँथे, दर्शक पनि चर्को आवाजमा गाइदिन्थे । अलीसहित दर्शकले ‘आवारगी’ गाउँदा कार्यक्रम स्थल ‘द प्लाजा’ गुन्जायमान बन्यो । 

करिब २० मिनेट जतिको प्रस्तुतिपछि अलीले ब्रेक लिए । साधना कला केन्द्रका मिलन मोक्तानले आफूले नै आशा भोस्लेलाई नेपालमा ल्याएको र अली सम्मूख पुग्नु सहज नरहेको बताए । ‘तपाईंहरु आइदिनु भयो, तपाईंहरुको उपस्थिति र आगमन मेरो लागि ऐतिहासिक हुनेछ । हामीसँग उहाँका गीत सँधै गुञ्जिरहन्छ । उस्ताज अलीलाई नेपालमा ल्याउने कुरा सुन्दा पहिला आङ नै सिरिङ्ग भएको थियो । तर आज त्यो संभव भएको छ,’ उनले भने । 

१५ मिनेटको ब्रेकपछि फेरि मञ्च उक्ले उस्ताज अली खान साहेब । त्यसै क्रममा मञ्चमा गीतकार दीपक जंगमलाई पनि सम्मान गरियो । दीपकले ‘किन किन तस्बिर’ रेकर्ड गराउँदाका क्षण सम्झिए । जंगमका अनुसार ४० वर्षअघि नै उस्ताजले यो गीत चर्चित हुने कुरा गरिसकेका थिए । '४० वर्षअगाडि खान साब अचानक एउटा नेपाली कार्यक्रममा आउनु भयो । एउटा भेटघाटमा गीतको कुरा भयो । आफूसँग पाँच दिन मात्र भएको कुरा उहाँले सुनाउनु भयो । अनि त्यतिबेला ४ गीत रेकर्ड गर्‍यौं,’ जंगमले भने,‘पहिलो गीत किनकिन तिम्रो तस्बिर सुन्नेबित्तिकै उहाँले भन्नुभयो, अल्लाहले चाह्यो भने यो सुपरडुप्पर हिट हुन्छ । नेपाली गीतको इतिहासमा ४० वर्षसम्म पनि यो गीतको आयु छ । यो करिश्मा खान साबको आवाजले नै भएको हो । गजलमा जुन बेग्लै किसिमको स्वरुप उहाँले गाउनुभयो, उहाँको जति तारिफ गरे पनि पुग्दैन ।’ 

Ghulam Ali resonated in Kathmandu

१५ वर्षदेखि बावु गुलामसँग गाउँदै आएका आमिरले छोरासहित नेपाली दर्शकबीच गाउन पाउँदा आभार प्रकट गरे । रचनाकार मनोज खड्काले लेखेको नयाँ नेपाली गजलमा यी तीनै पुस्ताको आवाज सुन्न सकिन्छ । ‘नेपाली हाम्रो भाषा होइन, केही शब्दहरु तलमाथि भए माफ गरिदिनुस्,’ नयाँ गीत प्रस्तुत गर्नुअघि आमिरले भने । त्यसपछि यो तीन पुस्ताले गाए, ‘गजल उनकै, गीत उनकै, कथा उनकै लेख्छु साथी’ बोलको नयाँ नेपाली गजल । गजलका केही अन्तरा गाइसकेपछि आमिरले रचनाकार खड्कालाई मञ्चमा बोलाए । मनोजले गीतमा जोडिएका व्यक्तिहरुलाई मञ्चमा निम्त्याउन खोज्दा उस्ताजबाट अन्य गीतहरु सुन्ने पर्खाइमा रहेका दर्शकले भने, ‘नो,नो’ । त्यसपछि तीन पुस्ताले चर्चित गजल ‘चुप्के चुप्के’ गाए । आमिरले गीतको राग गुनगुनाए, जसै ‘चुप्के चुप्के’ बोलको गीत उस्ताजले आफ्नो त्यही परिपक्व आवाजमा उठाए दर्शक जोशले भरिए । अलीले यही गीतलाई नयाँ शैलीमा पस्कँदा, दर्शकबीच ‘वाह वाह !’ गुञ्जियो । गीतको स्थायी ‘चुप्के चुप्के आँशु बहाना याद है’मा दर्शकको आवाज मिसिँदा द प्लाजाको माहोल नै गरम भयो । ‘चुप्के चुप्के काम हुन्छ भने त्यो त गजब्ब नै हो,’दर्शकदीर्घातर्फ हेर्दै खान साहेबले भने । ‘ए दिल मेरा…’ बोलको गजल त तीन पुस्ताले फेरि एकै स्वरमा पनि गाए । ‘गुलाम अली मेरो बुवा पनि हुनुहुन्छ, गुरु पनि हुनुहुन्छ । उहाँजस्तो उस्ताज अघि गाउनु मेरो लागि निकै कठिन कुरा हो,’आमिरले भने । 

काठमाडौं सहरमा आइपुगेका यो घरानाले सहरसम्बन्धी चर्चित गजल नगाउने कुरै भएन । ‘हम तेरी सहर में आए हैं, मुसाफिरकी तरह’ गाइरहँदा आमिरले दर्शकदीर्घालाई पनि सँगै गाउन लगाए । ‘सिर्फ एक मुलाकतका मौका देदे’ भने झैं दर्शकले पनि साथ दिँदै उनीहरुको अनुरोध मानिदिए । अर्थात् दर्शकले हरेक गीतमा आफ्नो सक्रिय सहभागिता आवाजसहित प्रस्तुत गरे । करिब २ घण्टासम्म पनि नेपाली गजल प्रस्तुत नगर्दा दर्शकबाट ‘नेपाली गीत’को फर्माइस् गुन्जिरह्यो ।

साधना कला केन्द्र र टिजी इन्टरटेन्टमेन्टको आयोजनामा आयोजित ‘गुलाम अलि एस्क्लुसिभ लाइभ इन नेपाल’मा ‘हमको किसके गम ने मारा’, ‘चमक्ते हुए चाँदको टूटा हुवा तारा बना डाला’, ‘दिलमे एक लहरसी उठी है अभी’, ‘गाँजलु ती ठूला ठूला आँखा’लगायतका गीतहरु तीन पुस्ते खानहरुले पस्के । ‘दिलमे एक लहरसी उठी है अभी’ बोलको गजल प्रस्तुत गरिरहँदा उस्ताजले आफ्नो असाधरण गायकीको शैलीमार्फत् दर्शकलाई चकित बनाइरहे । उनी हरेक गजललाई सुन्दर सुरहरु समात्दै प्रस्तुत गर्थे । ‘नेपालीहरुको माया यस्तो छ, काठमाडौंले माया दिइरहँदा हाम्रो सुरहरु पनि झनै खुल्दै गएको छ,’ उस्ताजले भने । त्यसैबीच कसैले भन्यो, 'आई लभ यू, गुलाम साब' । त्यसपछि तुरुन्तै जवाफमा उस्ताजले थपे,'लभ यू टू'। 

करिब ३ घन्टापछि यो घरानाले नेपाली गीत गायो, - 'गाँजलु ती ठूला ठूला आँखा' । गीतको स्थायीको उठान, खान साहेबले मधुर स्वरमा गरे । गीतका स्थायीमा ठूलाठूला जस्ता शब्द अटाए पनि, यो गीत गाइरहँदा उस्ताजको स्वर सानै थियो । आमिर र नजर अलीले स्वर थपिदिएपछि भने गीत गुञ्जयमान बन्यो । दर्शकले पनि उनीहरुसँगै गाए, ‍-निधारको त्यो लामो टिका छाप बनी बस्यो यो दिलैमा…। उस्ताजले छोरा र नातिसँग हार्मोनियम बजाउँदै गीतमाथि प्रस्तुतिदिँदा दर्शकले ‘वान्स मोर’ भन्दै चिच्च्याए । दर्शकको त्यही मागको सम्बोधन गर्दै खान घरानाले अन्तिम प्रस्तुति भन्दै फेरि गाए, ‘गाजलु ती ठूलाठूला आँखा’ ।

Ghulam Ali resonated in Kathmanduतस्बिरहरु : दीपक केसी/कान्तिपुर

रीना मोक्तान मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully