काठमाडौँ — गायक प्रकाश सपुत निर्देशित फिल्म 'वसन्त'को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता प्रकाश र अभिनेत्री स्वस्तिमा खड्का देखिएकी छन्, दुवै विद्यालयको पहिरनमा छन् ।
निर्देशक सपुतले फिल्म प्रेमको रङ्गमा आधारित भएको जनाएका छन् । होलीको दिन फिल्मको पोस्टर सार्वजनिक गर्दै सपुतले विभिन्न रङ्गहरुमध्ये 'वसन्त'मा प्रेमको रङ्ग मिसाएको जनाए । यो फिल्म सपुतको डेब्यू निर्देशन हो ।
चैत २२ देखि प्रदर्शनमा आउने यो फिल्ममा सपुत र खड्कासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायतको अभिनय छ ।गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने फिल्ममा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा छ ।
फिल्मलाई बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा छायांकन गरिएको हो । सुसन प्रजापतिले खिचेको यो फिल्मलाई काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछन् ।
