फिल्मकर्मीले भने - अब संगठित रुपमा सेन्सरविरुद्ध लडौं

चैत्र १, २०८१

कान्तिपुर संवाददाता

Film workers said - now let's fight against censorship in an organized manner

काठमाडौँ — फिल्ममाथि अंकुश लगाउने सेन्सर बोर्डविरुद्ध संगठित रुपमा लड्ने फिल्मकर्मीले बताएका छन् । बिहीबार थापागाउँस्थित मण्डला नाटकघरमा पत्रकार सम्मेलन गर्दै फिल्मकर्मीले अब संगठित रुपमा आन्दोलन गर्ने बताए ।

दीपक रौनियार निर्देशित फिल्म 'राजागंज'मा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा गरेको भाषणको अंश समावेश थियो । सेन्सर बोर्डले उक्त भिडियो र विभिन्न शब्दहरूमाथि अंकुश लगाएपछि फिल्मकर्मी आक्रोशित बनेका हुन् । पत्रकारसँग अन्तरक्रिया गर्दै निर्देशक नविन सुब्बाले राज्यतर्फ लक्षित गर्दै भने, 'हामी फाइट टु फिनिसमा जान्छौं, तपाईंहरू तयार हुनुहोला । हामी रचनात्मक आन्दोलनमा जान्छौं ।'

उनले सेन्सर बोर्ड नसच्चिएसम्म आफूहरूले आन्दोलन जारी राख्ने बताए । यस्तो संरचना खारेज हुनुपर्ने समेत उनको भनाइ छ । 

'राजागंज'का निर्देशकले सेन्सर बोर्डका अध्यक्षले स्क्रिप्ट पढेकै आधारमा आफूलाई साम्प्रदायिकता फैलाउने आरोप लगाएको बताए । फिल्म हेर्न नमान्दा आफूले थुप्रैपटक बिन्ती गरेको बताए ‌ । 

अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि सेन्सर बोर्डले आफूहरूलाई पनि दु:ख दिएको स्मरण गरे । र भने, 'यसको समाधान संगठित रुपमा फिल्मकर्मीहरू लागेर गर्नुपर्छ ।' निर्माता अशोक शर्माले भने, 'फेरि यो सेलाउँछ । अब आन्दोलनमा गएर टुंगोमा पुर्‍याऔं,अब भिड्नैपर्छ ।'

अभिनेता दयाहाङ राईले पनि यसलाई टुंगोमा लैजानुपर्ने मत राखे । निर्देशक मनोज पण्डित, दीपेन्द्र लामा, उपेन्द्र सुब्बा, प्रोडक्सन म्यानेजर शंकर पाण्डे, अभिनेत्री रिमा विश्वकर्मा लगायतले पनि सोही कुरामा अडान राखे । 

सेन्सर बोर्डले यसअघि पनि थुप्रै फिल्महरुमाथि अंकुश लगाइसकेको छ । सामाजिक सन्जालमा पनि फिल्मकर्मीले सेन्सरविरुद्ध बोलिरहेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully